
जाडोमा हिटर र गिजरले निम्त्याउन सक्छन् कहालीलाग्दो जोखिम, यस्ता छन् जोगिने उपाय
एजेन्सी – गत साता सोमवार काठमाडौंको बागबजारस्थित काठमाडौं मोडेल कलेज (केएमसी) को छात्रावासमा एक विद्यार्थीको मृत्यु भयो। नुहाउने क्रममा बेहोस भएका उनलाई अस्पताल लग्दालग्दै मृत्यु भएको कलेजका प्रधानाध्यापक डा. नवीन्द्र बहादुर अर्यालले जानकारी दिए। उनले दिएको जानकारी अनुसार मृतक कक्षा १२ मा अध्ययनरत थिए।
घटनालगत्तै कलेजका अन्य विद्यार्थी आन्दोलनमा ओर्लिए। उनीहरूले कलेजको होस्टलमा उचित भेन्टिलेशन नभएका कारण निसासिएर आफ्ना साथीको ज्यान गएको दाबी गरेका छन्। कलेज व्यवस्थापनले लापरबाही गरेको आरोप उनीहरूले लगाएका छन्।
प्रधानाध्यापक अर्यालले भने,’घटनाबारे अझै पनि अनुसन्धान भइरहेको छ। कस्ता कमजोरी भए र अबदेखि के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ।’
चिसो छल्न प्रयोग गरिने विद्युतीय वा ग्यास हीटर तथा गिजरका कारण भएको भनिएको यो पहिलो घटना भने होइन। जाडो महिनामा त्यस्ता उपकरणको प्रयोगपछि दुर्घटनामा परी अस्पताल भर्ना हुने र मृत्यु हुनेको सङ्ख्या उल्लेख्य मात्रामा हुने चिकित्सकहरू बताउँछन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पल्मोनोलजी एवं क्रिटिकल केअर मेडिसिन विभागका डा। नीरज बम भन्छन्,”मृत्युका घटना बाहिर आउँछन् तर घाइते हुनेहरूबारे कसैलाई थाहा हुँदैन। यस वर्ष जाडो लागेपछि थुप्रै बिरामी नुहाउँदानुहाउँदै वा आगो ताप्दाताप्दै निसासिएको, बेहोस भएको भन्दै ल्याइएका छन्। उनीहरू ठिक भएर घर फर्किन्छन्।”
के कारण निसासिन्छन् मानिस ?
ग्यासबाट चल्ने हीटर र गिजर चलाउँदा वा कोठाभित्र आगो बाल्दा त्यसबाट कार्बन मोनोक्साइड निस्किने विज्ञहरू बताउँछन्। जुन कोठा वा नुहाउने कोठामा फैलिन्छ। चिसो मौसममा कोठाको झ्यालढोका बन्द रहने भएकाले बाहिरबाट अक्सिजन भित्र पस्न पाउँदैन र भित्रबाट दूषित कार्बन मोनोक्साइडयुक्त हावा बाहिर जान पाउँदैन।
कसरी हुन्छ बिजुलीबाट आगलागी वा दुर्घटना, क्षति घटाउने उपाय के हुन् ?
‘त्यसरी गुम्सिएको कोठामा फैलिएको कार्बन मोनोक्साइड हामी सासबाट लिन थाल्छौँ। त्यो मानिसको फोक्सोमा पुग्छ र फोक्सोबाट रगतका नलीमा गएर रातो रक्तकोषिकाको हेमोग्लोबिनसँग टाँसिन्छ” डा. बम भन्छन्।
सामान्य अवस्थामा फोक्सोबाट आएको अक्सिजनलाई हेमोग्लोबिनले बाँधेर शरीरभरि पुर्याउँछ। तर अक्सिजनको साटो कार्बन मोनोक्साइड रक्तनलीमा गएपछि मुटु, मिर्गौला, कलेजो र मस्तिष्कसम्म पनि पुग्छ।’त्यसपछि मानिसमा निसासिने समस्या देखिन थाल्छ,’ उनले भने।
उनका अनुसार यो अवस्थालाई ‘कार्बन मोनोक्साइड पोइजनिङ’ भनिन्छ।
पल्मनरी एन्ड क्रिटिकल केअरविज्ञ डा. रक्षा पाण्डेले भने कार्बन मोनोक्साइडको रङ्ग र गन्ध नहुने भएकाले झट्ट पहिचान गर्न गाह्रो हुने जानकारी दिइन्। अक्सिजनको तुलनामा कार्बन मोनोक्साइड चाँडो हेमोग्लोबिनमा टाँसिन्छ।
कार्बन मोनोक्साइड शरीरका भागहरूमा फैलिएपछि सुरुमा टाउको गह्रुङ्गो हुने र दुख्ने, रिँगटा लाग्ने, आँखा तिरमिर हुने जस्ता समस्या देखिन्छन्। गाह्रो बनाउँदै जाँदा शरीर फतक्क गल्ने, बान्ता आउने, हात काँप्नेजस्ता समस्या आउने डा। बमले बताए।
.समस्या भोगिरहेको मानिसलाई आफ्नो स्थितिबारे चेत हुँदैन। उनीहरू बाहिर निस्किन पनि सक्दैनन्। त्यसैले निसासिन्छन् र लामो समय अक्सिजन अभावमा रहँदा ज्यान जान सक्छ,. उनले भने।
मुटुले अक्सिजन नपाउने यस अवस्थालाई ‘एरिद्निया’ भनिन्छ। यस अवस्थामा मुटुको गति र ताल असन्तुलित हुने चिकित्सकहरू बताउँछन्।
यस्तो दुर्घटना प्रायः गिजर प्रयोग गरी नुहाइरहेको वा हीटर बालेर सुतिरहेको अवस्थामा हुन सक्ने चेतावनी उनले दिए। ‘सुतेकाहरूको हकमा उनीहरू अर्धचेतनमा हुन्छन्। न रिँगटा लागेको थाहा पाउँछन् न टाउको दुखेको नै। त्यसैले बेहोस हुन्छन् र उठ्न सक्दैनन्।’
के हुन् समाधानका उपाय ?
तातोका लागि ग्यासबाट चल्ने वा विद्युतीय उपकरण प्रयोग गर्दा बाह्य र भित्री वातावरणको हावा आवतजावत हुने ठाउँ बनाउँदा तथा झ्याल वा भेन्टिलेशन खुला राख्दा जोखिम घट्ने डा. बमको कथन छ। उनले कार्बन मोनोक्साइड हावामा हलुका हुने र खुला ठाउँबाट बाहिर निस्किने जानकारी दिए।
दुर्घटना भइहालेको अवस्थामा अस्पताल पुर्याउनुको विकल्प नभएको उनी बताउँछन्। ‘कार्बन मोनोक्साइड पोइजनिङ भएकाहरूलाई तीव्र गतिमा प्रवाह हुने अक्सिजन सहायतामा राख्नुपर्छ। परीक्षणपछि बिरामीको शरीरको कहाँ कस्तो असर परेको छ सोहीअनुरूप औषधिउपचार गरिन्छ,’ बमले भने। बीबीसी



कागजपत्र |
