

सरकार नढाल्ने, पार्टी नफुटाउने तेस्रो विकल्पका सारथी ‘बादल’

काठमाडौं– स्थायी समितिमा आफूलाई अर्को शक्तिका रुपमा परिचय गराउन सफल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले सरकार पनि नढल्ने र पार्टी पनि नफुट्ने ‘राजनीतिक ओखती’को काम गर्ने भएका छन्।
सचिवालयमा निरपेक्ष रहेका उनले गुटगत र समूहगत विषयलाई नकार्दै आएका छन्। अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद समाधानका निम्ति बादलले पहल गर्ने भएका छन्। निकासका लागि स्थायी समितिमा विशेष कार्यदल गठनको प्रस्ताव राखी ओली नेतृत्वको सरकार र पार्टी बलियो बनाउने तयारी गरेका छन्।
बादलले सोमबार मात्रै सबै समस्याको समाधान स्थायी समिति बैठकले दिने बतइसकेका छन्। उनले भने,‘सरकार ढल्दैन, कसैले ढाल्न सक्तैन। पार्टी पनि विभाजन हुँदैन, त्यसलाई जोगाउने काम हुन्छ।’
बादलको यो भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ। वार कि पारको अवस्थाका लागि तयार भएका ओली–प्रचण्डलाई साइजमा ल्याउनका लागि तेस्रो पुस्ताका नेता तथा स्थायी समिति सदस्यहरूले बादललाई सहयोग गर्ने भएका हुन्। जसमा जनार्दन शर्मादेखि हरिबोल गजुरेलसम्मको साथ छ। उनीहरू कुनै पनि हालतमा विभाजनको तहमा जान नहुने र ओलीलाई महाधिवेशनसम्म अध्यक्षसहित पूरा कार्यकालका लागि प्रधानमन्त्री स्वीकार गर्नुपर्ने सहमतिका जगमा उभिने धारणा राख्छन्।
‘हिजो एकीकरण गर्दा सहमति भन्ने शव्द एउटा गहन सम्झौताका रुपमा तय भएको थियो। अहिले बहुमत र अल्पमतको विषय अगाडि सार्नु बाञ्छनीय हुँदैन’, गजुरेलले भनेका छन्,‘यी विवाद र बहस जारी भए पनि एउटा निकासका लागि हामीले दबाब दिनेछौं।’
सचिवालय बैठकमा पनि ओलीको विपक्षमा वा प्रचण्डको विपक्षमा नरहेका बादलले निकासका लागि स्थायी समितिमा नयाँ प्रस्तावसहित कार्यदल बनाउनका लागि प्रयत्न गरेका थिए। अति कम बोल्ने उनी यो विवाद समाधानका लागि सारथी बन्ने नेताहरू बताउँछन्।

