

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान ३:३० देखि ७:३० बजेसम्म

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको मतदान आज (मंगलबार) दिउँसो ३:३० देखि साँझ ७:३० बजे सम्म हुने भएको छ । पहिलो चरणको निर्वाचनले सभापति चयन गर्न नसकेपछि नेपाली काँग्रेसका निर्वाचन समितिले दोस्रो चरणको निर्वाचन गर्ने भएको हो । निर्वाचन समिति एक सुचना जारी गर्दै दोस्रो चरणको मतदान गर्ने समयबारे जानकारी दिएको छ ।
हिजो मंसिर २७ गते भएको सभापतिका लागि भएको चुनावमा सभापतिका दाबेदार रहेका ५ जना मध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा दोस्रो चरणमा मतदान गर्नु परेको हो । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बुहमत पुर्याउन सकेनन् ।
आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । तर सबैभन्दा धेरै मत ल्याएका देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत अपुग भएको छ ।
दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइराबीच प्रतिस्पर्धा हुने छ । कोइरालाले १७४९ मत ल्याएका छन् । दोस्रो चरणको मत परिणाम पनि आजै आउने बुझिएको छ ।

