कांग्रेस सभापतिका लागि यी ३ नेता भए ‘रिङआउट’, शीर्ष २ बीच आजै पुनः मतदान


काठमाडौं – नेपाली काँग्रेसको सभापति पदका लागि भएको मतदान नतिजाविहीन बन्दै दोस्रो चरणको मतदान हुने भएको छ ।

पहिलो चरणको मतगणनामा शीर्ष दुई स्थानमा रहेका दुई उम्मेदवारबीच आजै पुनः मतदान हुने पनि भएको छ । पहिलो चरणको मतगणनासँगै कांग्रेस सभापतिका ३ प्रत्यासी सभापतिको दौडबाट बाहिरिएका छन् ।

प्राप्त मतपरिणामअनुसार आइतबार भएको मतदानमा ४६८१ मत खसेको थियो । त्यो मध्ये ७७ मत बदर भएको पनि जनाइएको छ । यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । तर सबैभन्दा धेरै मत ल्याएका देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत अपुग भएको छ ।

दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । कोइरालाले १७४९ मत ल्याएका छन् ।

सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए ।

यससँगै शीर्ष दुई स्थानमा शेरबहादुर देउवा र शेखर कोइराला भएसँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडबाट बाहिरिएका हुन ।

 

प्रतिक्रिया