हाइ अल्टिच्युड रसुवा माउन्टेन बाईक च्यालेन्जः लक्ष्मण र हुमी च्याम्पियन


रसुवा – पहिलो संस्करणको हाइ अल्टिच्युड रसुवा माउन्टेन बाईक च्यालेन्जको उपाधि लक्ष्मण मल्ल र हुमी बुढामगरले जितेका छन् । शनिबार रसुवाको कालिका गाउँपालिका–२ कालिकास्थानमा भएको ३१ किलोमिटरको दौड मल्लले १ घण्टा २९ मिनेट १९ सेकेन्डमा पार गर्दै विजेता बने ।

पुरुष स्पर्धामा सुरज राना मगर दोस्रो र प्रकाश थापा मगर तेस्रो बनेका छन् । सुरजले १ घण्टा २९ मिनेट ४२ सेकेन्ड र प्रकाशले १ घण्टा २९ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरे । सोही स्पर्धा हिक्मत बिके चौथो, अच्युत कृष्ण खरेल पाँचौ, प्रचित थापा मगर छैटौं, किरण राई सातौं, मानबहादुर तामाङ आठौं, बिनोद सापकोटा नवौं र मिलन श्रेष्ठ दशौं भए ।

महिलातर्फ विजेता बनेकी हुमीले १३ औं साग खेलकुदकी स्वर्ण पदक विजेता लक्ष्मी मगरलाई २ सेकेन्डले पछि पारिन् । हुमीले निर्धारित दुरी १ घण्टा ५३ मिनेट १३ सेकेन्डमा पार गरिन् । दोस्रो बनेकी लक्ष्मीले १ घण्टा ५३ मिनेट १५ सेकेन्डमा पुरा गरिन् ।

तेस्रो बनेकी इन्द्रकला नेम्वाङ्गले २ घण्टा २ मिनेट ४८ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । सोही स्पर्धामा उषा खनाल चौथों, इन्द्रकुमारी तामाङ पाँचौं, बिदिशा चौधरी छैटौं र सकुन्तला बुढा मगर सातौं भईन् ।

पुरुष तथा महिला स्पर्धामा च्याम्पियन बनेका खेलाडीले ४० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले ७ हजार, पाँचौंले ६ हजार, छैटौंले ५ हजार, सातौंले ४ हजार, आठौंले ३ हजार, नवौंले २ हजार र दशौं स्थान हात पार्ने खेलाडीले १ हजार रुपैयाँ नगद प्राप्त गरे ।

प्रतियोगिताको मास्टर्स विधामा हर्क लामा विजेता बने । उनले निर्धारित दुरी १ घण्टा ४५ मिनेट २४ सेकेन्डमा पार गरे । दोस्रो बनेका नयन मानन्धरले १ घण्टा ४९ मिनेट ५६ सेकेन्डमा दुरी पुरा गरे । पेम्बा शेर्पाले २ घण्टा ५ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै तेस्रो बने ।

जुनियर स्पर्धाको विजेता किरण लिम्बु बने । उनले १ घण्टा ३८ मिनेट ३८ सेकेन्डमा दुरी पार गरे । आशिष तामाङ १ घण्टा ४६ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो बने । तेस्रो बनेका राहुल वाइबाले १ घण्टा ५० मिनेट ०२ सेकेन्डमा दुरी पार गरेका थिए ।

मास्टर्स र जुनियर विधाका विजेताले मेडल सहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गरे । १६ सय मिटर उचाईको कालिकास्थानबाट सुरु भएको दौड घुम्तिबजार, लामाटोल, गुम्बाडाडाँ, स्याउबारी हुँदै २३ सय मिटर उचाईको लोकिल पुगेर आलुखर्क, गोर्मु, सस्र्युङ, किमाजोङ, खाल्चेट, जिवजिबे हुँदै कालिकास्थानमै आएर टुङ्गिएको थियो ।

प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् बागमती प्रदेश र नेपाल साइक्लिङ संघले संयुक्त रुपमा जिल्ला साइक्लिङ संघ रसुवा र जिल्ला खेलकुद विकास समिति रसुवाकाे समन्वयमा आयोजना गरिएकाे हाे । पूर्व खेलकुद मन्त्री हितबहादुर तामाङले विजेता खेलाडीलाई मेडल र नगद सहित पुरस्कृत गरे ।

जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष दावा तामाङले अर्को वर्ष जिल्लामा साइक्लिङको अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरिने जानकारी दिए । प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीले खेलकुदसँगै प्रदेशको पर्यटनलाई प्रबद्र्धन गर्न हाई अल्टिच्युड प्रतियोगितालाई निरन्तरता दिईने बताए ।

प्रतिक्रिया