पानी जहाज कथाः कोसीमा दौडिरहेछन् पौडेलका सपनाहरू


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चलाउने अठोटको घोषणा गर्नासाथ सुनसरी चतरा बराह क्षेत्र (चक्रघट्टी)का नवीन पौडेलको सपना एक भित्ता उफ्रियो।

घरै अघिल्तिर बगीरहेको सप्तकोसी नदी नियाँल्दै अब सपनालाई विपनामा परिणत गर्ने जमर्कोतिर लागे। उनलाई लाग्यो– यहि कोसीमा अब जहाज दौडाउनेछु र प्रधानमन्त्री ओलीको बोलीलाई पूर्णता दिनेछु। यति मात्र होइन कोसीले नै उनका कतिपय सपना साँचेका जमिनहरू बालुवामा परिणत गरेको थियो। ति तिरमा रहेका आफ्ना जमिनमा पर्यटकीय गन्तव्यका लागि रिसोर्ट खोल्ने अर्को चरणको योजना पनि बनाए।

‘कुनै विदेशमा पुगेर अनुभव गरेको होइन। देशमा ओली सरकार आयो अब जहाज दौडाउने जिम्मेवारी मेरै हो भन्ने लाग्यो। तर यो साढे दुई बर्षमा भोगेको कठिनाईलाई सम्झिँदा एक हिसाबले ‘मुर्गा’ पो भइयो कि भन्ने लाग्छ’, उनी अलिक खुले।

पानी जहाज चलाउने कुरा भएपछि पौडेलले एकै पटक चारवटा मिनि पानी जहाज ल्याउने प्रक्रिया थालेका थिए। सरकारको योजना र त्यसमा पनि प्रधानमन्त्रीको सपना नै बनेको पानी जहाज नेपाल भित्राउँदा भन्सार छुट वा कर छुटको अपेक्षा राख्नु स्वभाविक ठानेका थिए। तर, उनका यी अपेक्षा त्यतिबेला ध्वस्त भए जब चार जहाज भित्राउँदा ९० लाख त कर नै तिर्नुपर्ने भयो।

ठिक छ यो त तिरियो तर जलमार्ग विस्तारमा सरकारले सहयोग गर्छ भन्ने आशा उनमा थियो। ति आशाहरू विस्तारै निराशाका चरणमा त्यसबेला पुगे जब नदिका ढुंगामा ठोक्किएर जहाजलाई क्षती पुग्यो र मर्मतका लागि करोडौं रकम निकाल्न पर्ने भयो।

काठमाडौंमा भएका दुई घर, जग्गाहरू बेचेर जसो तसो जहाज चलाउने निरन्तरा दिइरहेका उनी भन्छन्,‘अब त ति जहाज र म मात्रै छु भन्दा फरक पर्दैन।’

उनले ल्याएका जहाजका सबै इन्जिनलगायतका सामान जापानमा निर्मित हुन्। तर त्यसको हल, ‘वडी’को भागचाहिँ चीनको संघाईमा बनाएर भित्राएको पौडेलले सुनाए। उनी जोडछन्,‘यो निक्कै गुणस्तरीय बनेको छ। पानीको गहिराईदेखि सबै मापन गर्ने, स्क्रिनमा जलचर देखिने प्रकारको निर्माण गरिएको छ।’

१ नम्बर प्रदेशमा परेको हुनाले मुख्यमन्त्री शेरधन राई पनि कयन पटक उनका जहाज चढेका छन्। तर प्रदेश सरकारले जलमार्गको विस्तार निर्माणका निम्ति खासै चासो दिएको पौडेललाई लाग्दैन।  अहिले चतरादेखि भोजपुरको हतुवागडीसम्म जहाज चल्छन्। यो यात्रामा ११ मिनेट लाग्छ।

अढाई बर्षको यो दौरानमा पौडेलले जलमार्गको विस्तार नै प्राथमिक ठानेका छन्। उदयपुरको घुर्मीसम्म कोसी नदीमा पानी जहाज चलाउन सकिने सम्भावना रहेको उनले सरदर अध्ययन गरेका छन्।

राज्यले जलमार्ग विस्तार गरिदियोस् भन्ने पौडेलको अपेक्षा छ। कोसीभित्रका ढुंगाका कारण जहाजलाई समस्या आएका थिए त्यो बाटो क्लियर बनाउन पनि सरकारले सहयोग गरिदियोस् भन्ने उनको चाहना थियो। तर आफैंले १३ किलोमिटरसम्मको मार्ग बनाइसकेका छन्।

अहिले त्रिवेणीसम्म पुगेको बाटो दूधकोसीसम्म चलाउन पाए अझ राम्रो हुने उनी ठान्छन्। उदयपुरको रानीटार भन्ने ठाउँसम्म दूधकोसीमा सरकारले मार्ग बनाइदिए पर्यटनको विकास र जहाजको काम अझ प्रभावकारी हुने पौडेलले बताए।

बराहक्षेत्र म्यारिन एन्ड रिसोर्ट प्रालिमार्फत उनले चलाएका चार वटा जहाजमा तीन वटा २५ सिटे क्षमताका र एउटा ८५ सिटे ठूलो जहाज पनि छ।

‘जहाजभित्रका अनेक कथा छन्। धेरैका लागि चाँडो यात्रा गर्ने जलएम्बुलेन्सको रुपमा पनि बुझ्न थालेका छन्। कतिपयले त जहाजमा बच्चा समेत जन्माएका छन्’, अनौठा घटनाक्र स्मरण गर्दै उनी थप्छन्,‘यी सपनाहरू वास्तविकतामा परिणत भएका छन् तर सरकारले थोरै होस्टेमा हैंसे गरिदिए पर्यटनका क्षेत्रमा पनि व्यापक परिवर्तन हुन सक्छ भन्ने लागेको छ।’

यहि सिलसिलामा पौडेलले केही दिन अघि प्रधानमन्त्री ओलीलाई भेट्ने मौका पाए। साढे तीन घन्टासम्म प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका उनले समस्याको पोको फुकाए र सम्भावनाका ढोकाहरू देखाए। के भन्नुभयो प्रधानमन्त्रीले भन्ने चासोबारे उनी भन्छन्,‘उहाँ खुसी देखिनुभएको छ। राज्यले सक्ने सहयोग, नीतिगत सहयोगमा कसर रहनेछैन भन्नुभयो।’

प्रतिक्रिया