
२५० रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार !
काठमाडौं – करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ।
अर्थ मन्त्रालयमा शुक्रवार आयोजित एक विशेष कार्यक्रमका बीच साउन महिनाको पहिलो पाक्षिक अवधिका विजेताहरूको घोषणा गरिएको हो ।
आन्तरिक राजस्व विभागका अनुसार २०८३ साउन १ देखि १५ गतेसम्मको अवधिका लागि १६ जना विजेता छनोट भएका छन् । यसमा प्रत्येक दिनका एक–एक जना गरी १५ दैनिक विजेता र एक जना बम्पर विजेता रहेका छन् । दैनिक विजेताले १ लाख १२ हजार ३७४ रुपैयाँ तथा बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
विभागका अनुसार शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरी बिल लिएका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। विजेताको कुपन नम्बर ००७–३१५–२५४–४९३ रहेको छ।
विभागका अनुसार साउन १ देखि १५ गतेसम्म उपभोक्ताले विभागको वेबसाइटमा ७ हजार ७७ वटा नगद कारोबार विवरण प्रविष्ट गरेका छन्, जसको कुल मूल्य ८ करोड २४ लाख रुपैयाँ रहेको छ । ती कारोबारमा ३ हजार ९ सय १५ विक्रेता आबद्ध छन् ।
यस्तै, सोही अवधिमा अनलाइन भुक्तानीमार्फत ७६ अर्ब ६० करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको विभागले जनाएको छ । अनलाइन भुक्तानीका कारोबार भने स्वतः प्रणालीमा समावेश हुने भएकाले छुट्टै विवरण प्रविष्ट गर्नुपर्ने व्यवस्था छैन ।
विभागले विजेताको कुपन नम्बर र संक्षिप्त विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गर्ने जनाएको छ । व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै विजेताको पूरा नाम र मोबाइल नम्बर भने सार्वजनिक नगरिनेछ । पुरस्कार विजेताले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा गई पुरस्कार रकम दाबी गर्न सक्ने व्यवस्था गरिएको छ ।
उपभोक्तामा बिल लिने बानीको विकास गराउँदै कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सरकारले चालु आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार योजना लागू गरेको हो। यसअन्तर्गत प्रत्येक १५ दिनमा १५ जनालाई एक–एक लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार प्रदान गरिने व्यवस्था छ।
योजनामा सहभागी हुन नगद भुक्तानी गरी एकपटकमा १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरेका उपभोक्ताले सक्कली बिल prize.ird.gov.np वेबसाइटमार्फत अपलोड गर्न सक्नेछन्। क्यूआरमार्फत गरिएको कारोबार भने स्वतः प्रणालीमा समावेश हुने भएकाले छुट्टै बिल दर्ता गर्नुपर्ने छैन।
विभागका अनुसार बैंक वा डिजिटल वालेटको क्यूआर प्रयोग गरी १०० रुपैयाँभन्दा बढीको खरिद गर्ने उपभोक्ताले सम्बन्धित कारोबारको ट्रान्जेक्सन नम्बर सुरक्षित राखेमा सोही नम्बर उपहार योजनाका लागि योग्य हुनेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदातालाई औपचारिक कर प्रणालीमा आकर्षित गर्न र बिल लिने संस्कृतिको विकास गर्न यो कार्यक्रम घोषणा गरेका थिए। त्यसअनुसार सरकारले कार्यविधि स्वीकृत गरी योजना कार्यान्वयनमा ल्याएको हो।



कागजपत्र |
