शहीद स्मारक ‘ए’ डिभिजनः आर्मी र पुलिसका साथै मछिन्द्र र एनआरटी भिड्दै


काठमाडौं — उपत्यकामा जारी शहीद स्मारक ए डिभिजन लिग २०७८ अन्तर्गत आज (सोमबार) पहिलो चरणको दुई खेल हुँदैछन् ।

डिफेण्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) खेल्दा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।

सोमबारको पहिलो खेल विभागीग टोली त्रिभुवन आर्मी र र पुलिसबीच दिउँसो एक बजे दशरथ रंगशालामा हुनेछ । साविक उपविजेता समेत रहेको आर्मी यसपटक उपाधि जित्ने लक्ष्यका साथ लिग खेल्दैछ ।

भरत खवासको कप्तानीमा रहेको आर्मीका फरवार्ड नवयुग श्रेष्ठ चोटका कारण लिगमा खेल्न छैनन् । आर्मीले राष्ट्रिय टिमका पूर्वसदस्य जगजित श्रेष्ठलाई अनुबन्ध गरेको छ । यस्तै टिममा जर्ज प्रिन्स कार्की, सेसहाङ आङदम्बे, दिनेश हेन्जन, विकेश कुथुलगायत खेलाडी छन् ।

त्यस्तै पुलिसमा राष्ट्रिय टिमका तेज तामाङ, राष्ट्रिय टिमबाट खेलिसकेका रवि पासवानलगायत खेलाडीहरू छन् ।

त्यस्तै दोस्रो खेलमा मछिन्द्रले एनआरटीसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । यो खेल अपराह्न ४ः४५ बजे दशरथ रंगशालमै सुरु हुनेछ ।

मछिन्द्रले राष्ट्रिय टिमका मनिष डाँगी, सुनिल बलदेखि अजवैजानमा नुर्लान नोभ्रुजोभलगायत खेलाडीलाई भित्र्याएको छ । यस्तै विमल घर्ती मगर पनि मछिन्द्रबाटै खेल्दैछन् । यसबाहेक सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, अभिषेक रिजाल, रन्जित धिमाल, देवेन्द्र तामाङ, छिरिङ गुरुङलगायत राष्ट्रिय टिमका अनुभव रहेका खेलाडी छन् ।

एनआरटीले भने दुई विदेशी खेलाडी मेसुके ओलोमोउ र स्टेफन समिरलाई अनुबन्ध गरेको छ । यस्तै दर्शन गुरुङ, एरिक विष्ट, राजेश परियार जस्ता खेलाडी खेलाडी पनि एनआरटीमा छ ।

प्रतिक्रिया