

कहाँ छन् दरबार हत्याकाण्डमा मारिएकी अधिराजकुमारी श्रुतिका छोरीहरू गिर्वाणी र सुरङ्गना?

काठमाडौं– मुलुकमा राजसंस्था पुनःस्थापनाको मागसहित सडकमा स्वतस्फूर्त प्रदर्शन चलिरहेका छन्। यहि मेसोमा पूर्वराजा ज्ञानेन्द्र शाहका सन्तानको चर्चा पनि चुलिएको छ। तर दरबारको अतित बनाइएको राजा वीरेन्द्र शाहका वंशका दुई दिप गिर्वाणी र सुरङ्गनाको भने चर्चा छैन।
१९ जेठ ०५८ मा भएको दरबार हत्याकाण्डमा वीरेन्द्रको वंश नै नाश भएको थियो। दुई दिनका लागि राजा घोषणा गरिएका तत्कालिन युवराज दिपेन्द्र शाहले दरबार हत्याकाण्ड गराएको बताइएको थियो। सो क्रममा राजा वीरेन्द्रसहित वडामहारानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको थियो।
१९ वर्षअघिको दरबार हत्याकाण्डमा बाँचेका गोरख शमशेर राणाले श्रुतिको सबैभन्दा महत्वपूर्ण चिनो दुई छोरी गिर्वाणी र सुरंगना राणालाई अध्ययनका लागि भारतमा राखेका छन्।
सामाजिक–सार्वजनिक कार्यक्रममा विरलै देखिने उनीहरू यति धेरै अलगावमा छन् कि, गोरख शमशेरका निकट पारिवारिक सदस्य पनि गिर्वाणी र सुरंगनाबारे बताउन चहाँदैनन्।
दरबार हत्याकाण्डका बेला भर्खर तीन वर्ष पार गरेकी श्रुति–गोरखकी जेठी छोरी गिर्वाणी यतिबेला २२ वर्ष पुगिसकेकी छन् भने सिर्फ सात महिनाकी सुरंगनाचाहिँ १९ वर्ष पार गरिसकेकी छन् ।
कहाँ छन्, के गर्दैछन्?
विभिन्न स्रोतहरूका अनुसार राजा वीरेन्द्रका चिकित्सक समेत रहेका डा खगेन्द्रबहादुर श्रेष्ठले ०६९ जेठमा काठमाडौँमा फोटो प्रदर्शनी आयोजना गर्दा उनीहरू देखा परेका थिए। बबरमहलस्थित नेपाल आर्ट काउन्सिल पुगेका उनीहरू लामो समयपछि देखा परेका थिए। आमा श्रुतिसहित दरबार हत्याकाण्डमा ज्यान गुमाएका शाही परिवारका अन्य सदस्यको तस्बिर देखेपछि गिर्वाणी भावुक बनिन्, आँसु झारिन् । उनले आँसु झार्दै गरेको तस्बिर भाइरल भएको थियो।
दुवै जना अहिले छिमेकी मुलुक भारतमा अध्ययनरत छन् । स्रोतहरूका अनुसार उनीहरू भारतको बैङ्लोर सहरमा अध्ययनका क्रममा छन्। गिर्वाणी बैङ्लोरस्थित एक कलेजमा स्नातक अध्ययनरत छिन् भने बहिनी सुरंगना पनि अब बैंङ्लोर पुगेकी छन्। त्यसअघि उत्तराञ्चलको देहरादुनस्थित वेलह्याम गल्र्स स्कुलमा उनीहरूले उच्च माध्यमिक शिक्षा पूरा गरिसकेका छन्।
त्यहाँ गृह विज्ञानमा कक्षा–१२ सकेपछि उनी थप अध्ययनका लागि बैङ्लोर पुगेकी हुन् ।
हिजोको मामाघर आजको संग्राहलय बन्यो । तर, मन बदलिएन । देश र आमा उस्तै हुन् । जति आमाको माया हुन्छ, त्यति देशको माया हुन्छ । त्यसैले होला स्व. अधिराजकुमारी श्रुति शाह राणाका छोरीहरू बारम्बार सम्झिरहन्छन् आमा र देश।
नारायणहिटी राजदरबारबाट संग्राहलय बनेपनि त्यसभित्रका सम्झनाहरू ताजै छन्। पुनः राजाका रूपमा ज्ञानेन्द्रले गद्दी सम्हाले पनि मुलुकको राजनीतिक परिवेशको आँधी बेहरीले दरबारलाई संग्राहलयमा परिणत गरिदियो । त्यहि संग्राहलयमा घरि–घरि झुल्किने गरेका छन् बाल्यकालमा नै गुमाएकी आमादेखि मावलीको सम्झनाका लागि गिर्वाणी र सुरङ्गना राणा ।
कजन सिस्टर ब्रदर (पारसकी छोरीहरू र छोरा)सँग उनी पुनः नारायणहिटी पुगेका थिए । नारायणहिटीको गेटमा राखिएको दिवंगत राजपरिवारको फोटोमुनि मैनबत्ती बाले, पुष्पगुच्छा चढाएर उनीहरूले नयाँ र पुरानो राष्ट्रिय गानसमेत गाएका थिए ।
‘हरेक स्मृति दिवसमा आमालगायत मामाघरका सवै सदस्यलाई श्रद्धाञ्जली दिने गरेका छन् ।’, दरबारका सहयोगीहरू भन्छन्,‘अध्ययन गरिरहे पनि आमाको माया र आफन्तको प्रेम भुलेका छैनन् ।’
पिता गोरख शम्शेर स्टान्डर्ड चार्टर्ड बैँकको एक्जेक्युटिभ कमिटीमा कमर्सियल बैँकिङ एन्ड इन्टरनेसनल कर्पोरेट्सका हेड छन् ।
आम साधारण सरह तस्बिर खिच्ने, परिआएको रीतलाई पनि पुरा गर्ने संस्कार श्रुतिका छोरीहरूमा भेटिन्छ । त्यसैले जोर्डनकी रानी नूरले भने जस्तै राजपरिवारका यी किशोरी अवशेषहरू पनि राजपरिवारको सदस्य भएर शक्तिको वरिपरि भन्दा पनि शान्तिपूर्ण समूहमा बस्न रूचाएका छन् ।
श्रुति गुमाएको सात वर्षपछि गोरख शमशेरले बैतडीकी दीप्ती चन्दसँग बिहे गरे, २१ मंसिर ०६५ मा । दीप्ती नाताले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका भाइ कृष्णबहादुर चन्दकी छोरी हुन् । दीप्ती तर्फबाट पनि गोरखकी एक छोरी छन्, सुरवी ।
अहिले मुलुकमा फेरि राजसंस्था र हिन्दू राज्यको आवाज बलियो हुन थालेपछि दुवै जनाबारे चर्चा सुरु भएको छ। पछिल्लो पटक पूर्वयुवराज्ञी हिमानी शाहसहित उनका छोरीहरू पूर्णिका र कृतिका सामाजिक सञ्जालमा भाइरल भए पनि श्रुतिका छोरीहरू देखिएका छैनन्।
टिकटकमा ‘गुराँसको फेद मुनी’ भन्ने गीतमा हिमानीसहित उनका दुई छोरीले गरेको नृत्यले व्यापक चर्चा पाएको थियो।

