

सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो

काठमाडौं – विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथाको उचाई ८६ सेन्टीमिटरले बढेको छ ।
मंगलबार आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमलब ८६ मिटर पुगेको घोषणा गरेका छन् ।
उचाइ मापन भने नेपाल र चीनको प्राविधिक टोलीले छुट्टाछुट्टै गरेको थियो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेपछि नयाँ उचाइ पत्ता लागेको हो र सो सार्वजनिक गरिएको हो । चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेको विभागले जनाएको छ ।
यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो ।

