

एउटा भीआईपीको गुमनाम निधनः प्रधानमन्त्री ओलीदेखि दलाई लामा र भारतीय नेतासँग कनेक्शन थियो

-रवि धामी
काठमाडौं– नेपालका उच्च पदस्त व्यक्तित्व, निर्वासित तिब्बती नेता दलाई लामा र भारतीय विभिन्न नेतासँग सिधा सम्पर्कमा रहेका एक भीआईपी बौद्ध धर्मगुरुको गुमनाम निधन भएको छ।
चीनको मानसरोबर क्षेत्रमा जन्मिएका तर नेपाली नागरिकता लिई काठमाडौं बौद्ध क्षेत्रमा अड्डा जमाएका कर्मा टान्पाई ग्याल्झेन नामका धर्मगुरुको हालै युरोपको हंगेरीमा निधन भएको हो।
उनको अन्तिम संस्कार बौद्ध धर्म परम्पराअनुसार मंगलबार गरिएको छ। २८ नोभेम्वरमा मृगौलाले काम नगरेपछि उनको निधन भएको बताइएको थियो। सुरुमा उनलाई कोरोना संक्रमण भए पनि त्यसलाई पराजित गरेका थिए।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली ग्याल्जेनसँग
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीदेखि सत्ताधारी दल तथा विपक्षीका विभिन्न नेतासँग उनको सम्बन्ध रहेको थियो। नेपालमा भने उनको भूमिकालाई शंकास्पद रुपमा हेरिने गरिएको थियो ।
धर्मको आडमा उनले नेपालमा युरोपियन युनियनका लागि चीनविरुद्धको सूतना संकलन गर्दै आएको दाबी गरिन्थ्यो। चिनियाँ दूतावासका अधिकारीको पनि उनीसँग राम्रै उठबस रहेको बताइएको छ।
भारतमा नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालदेखि सत्तारुढ भारतीय जनता पार्टीका नेता तथा हिन्दूवादी ठूलो संगठन राष्ट्रिय स्वयम् सेवक दलका प्रमुख मोहन भागवतसँग पनि ग्याल्झेनको उठबस रहेको थियो।
नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवादेखि उच्च सरकारी कर्मचारीदेखि सुरक्षा निकायका अधिकारीहरू पनि मृतक ग्याल्झेनसँग आशिर्वाद लिन पुग्ने गरेका थिए।
बौद्धको जोरपाटीमा उनको रोयल ह्वाईट गुम्वा रहेको छ। त्यहाँ करिव १५ जना विद्यार्थी र एक दर्जन कर्मचारी छन् । अब ग्याल्झेनको निधनपछि हंगेरीकै नागरिक युआना उनको उत्तराधिकारि बनेर केही समयपछि नेपाल आउन लागेको पनि बताइन्छ।

आरएसएस प्रमुख मोहन भागवत र ग्याल्झेन

नयाँ दिल्लीका मुख्यमन्त्री र ग्याल्झेन

तिब्बती निर्वासित नेता दलाई लामा र ग्याल्झेन

