सुज अभियान लिएर बाबुराम जनताको घरदैलोमा!


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई यतिबेला जनताका घरदैलोमा पुगेका छन्। जसपाको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर उनी जनताको घरदैलो पुगेका हुन्।

गोरखाका सबै गाउँपालिका–नगरपालिकामा जनताको घर–घरमा पुग्ने अभियान थालेका पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आफू भोट माग्न नभई जनताको वास्तविकता हेर्न र समस्या समाधानको पहल गर्न घर–घरमा आएको बताए।

उनले सही राजनीति नभएसम्म देश नबन्ने ठोकुवासमेत गरे। अहिलेको राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुन नसक्ने उनको दाबी थियो। तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनलाई उदाहरण दिएर भट्टराईले पुरानो पार्टीबाट अब विकास र समृद्धि सम्भव नहुने विश्लेषण गरे।

साम्यवादको अमूर्त कुरालाई छाडेर सबै राजनीतिक पार्टीलाई समाजवादी धारमा लाग्नसमेत भट्टराईको आग्रह छ। ‘पुराना पार्टीबाट देशको विकास र समृद्धि सम्भव छैन। विकासको लागि सबैभन्दा पहिले राजनीति ठीक ठाउँमा आउनुपर्छ,’उनले भने।

यो सुज अभियान कार्तिक २२ देखि मंसिर ३ गते सम्म सञ्चालन हुने जनाइएको छ। तल्लो तहका जनताका गुनासा र वास्तविकता बुझ्न र अहिलेको राष्ट्रिय राजनीतिबारे बुझाउन भट्टराई यस्तो अभियानमा निस्केका हुन्।

अभियान मंसिर ३ गते बाल्वामा स्वास्थ्य शिविर कार्यक्रम पश्चात टुंगिनेछ।

प्रतिक्रिया