
देउवा नै पार्टी सभापतिको लागि उपयुक्तः गृहमन्त्री खाण
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने जिकिर गरेका छन्।
नेपाली कांग्रेस धनुषाले सोमबार छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलामा खाणले सत्ता र पार्टी सञ्चालनका लागि देउवा नै उपयुक्त रहेको बताएका हुन्।
प्रधानमन्त्री र पार्टी सभापति एकै जना भए सत्ता सञ्चालन गर्न सजिलो हुने र आन्तरिक किचलो समेत नहुने कांग्रेस नेता समेत रहेका खाणको भनाइ थियो।
खाणले तराई मधेसमा रहेको नागरिकता समस्या सम्पूर्ण देशको समस्या भएको बताए। ‘यसलाई अध्यादेशबाट नभई ऐनमार्फत दीर्घकालीन रूपमा समाधान गर्न सरकारले तयारी गरिरहेको छ,’ उनले भने।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक संसद् अवरुद्ध गर्दै आएकाले नागरिकतालगायतका अन्य आवश्यक विधेयक अड्किएको र संसद् सञ्चालन हुने बित्तिकै नागरिकता विधेयक नै आफूहरूले पारित गराएर समस्या समाधान गर्ने तयारीमा रहेको उनले बताए।



कागजपत्र |
