
आज बागमतीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै !
हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदैछन्।
तिहार अघिको अन्तिम प्रदेशसभाले आजका लागि प्रदेशसभाको मिति तोकेपछि मुख्यमन्त्री पाण्डेले पहिलो दिन नै विश्वासको मत लिने प्रस्ताव पेश गर्ने जनाइएको छ । नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने जनाइएको छ ।
प्रस्ताव पेश भएपछि आजै विश्वासको मतमाथि मतदान हुनसक्ने पनि जनाइएको छ ।
कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको अवस्थामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका व्यक्तिले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले विश्वासको मत लिन लागेका हुन्। नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका पाण्डे नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको सहमतिमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको बागमती प्रदेशमा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक रहेको बेला पाण्डेले ५९ सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।
बागमती प्रदेशमा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई–दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य छन्।



कागजपत्र |
