सल्यान बस दुर्घटना अपडेटः मृतक १२ मध्ये १० को सनाखत


सल्यान – सल्यानमा आइतबार बिहान भएको बस दुर्घटनामा परेर मृत्यु भएका १२ जनामध्ये १० जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोबिन्द थापाले दुर्घटनामा दश महिला र दुई पुरुषको परेर मृत्यु भएको बताए।

थापाका अनुसार मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ८ की ३५ वर्षीया सावित्रा केसी र वडा नं. ६ कोरबाङका ५ वर्षीय सुरज वली छन् ।

त्यस्तै सल्यानको शारदा नगरपालिका –२ की ६१ वर्षीया मीना डाँगी, शारदा ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका – १ काभ्राकी २४ वर्षीया मीना शाही र क्षत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक वलीको मृत्यु भएको छ।

त्यस्तै सल्यान शारदा नगरपालिका –१२ घर घई हाल दाङको तुलसीपुर उपमहानगरपालिका – ६ बस्ने ५३ वर्षीया पर्भा चलाउने, दाङको बबई गाउँपालिका वडा नम्बर ४ की ६० वर्षीया डुली रेउले, बबई ६ पञ्कुलेकी ७० वर्षीया कलाबती बुढाथोकी, घोराही उपमहानगरपालिका – १० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारीको दुर्घटनामा परेर मृत्यु भएको छ।

सात जना घाइतेलाई थप उपचारको लागि बाँके जिल्लाका अस्पतालहरुमा रिफर गरिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको पनि जनाइएको छ ।

३० जना यात्रु चढेको ना २ ख २५५२ नम्बरको बस सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गर्दा बिहान पौने ११ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोला नजिकै दुर्घटनामा परेको थियो। बस सडकबाट करिब २ सय मिटर तल खोलामा पुगेको पनि जनाइएको छ ।

प्रतिक्रिया