सल्यान दुर्घटना अपडेटः ९ को मृत्यु, एक जनाको सनाखत


सल्यान – सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । सल्यानको दुलधारा पोखरा खलंगा हुँदै तुलसीपुर आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा भएको दुर्घटनामा ९ जनाको मृत्यु भएको जनाइएको छ ।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आफ्नो टोली उद्धारका लागि दुर्घटना स्थलतर्फ जान लागेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए।

घटनामा परी २० जनाभन्दा धेरै घाइते भएको जनाइएको छ । बस सडकबाट २ सय मिटर तल खसेकोले गम्भीर घाइतेहरुको संख्या धेरै नै रहेको जनाइएको छ । यसबाट मृतकको संख्या बढ्न सक्ने उद्धारमा संलग्न एक स्थानीयले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले एउटा एम्बुलेन्समा राखेर घाइतेहरूलाई श्रीनगर पुर्‍याइएको जानकारी दिए। ‘घाइते धेरै छन् भन्ने कुरा आएको छ,’ पौडेलले भने, ‘एम्बुलेन्सको कमी भएको छ।’

मृतकमध्ये १ जनाको सनाखत भएको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल सल्यानमा छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वलीको मृत्यु भएको छ।

प्रतिक्रिया