सल्यानबाट दाङ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना


सल्यान – सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस आइतबार बिहान दुर्घटनामा परेको छ। सल्यानको दुलधारा पोखरा खलंगा हुँदै तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिका- ५ खारखोलामा दुर्घटनामा परेको हो।

बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आफ्नो टोली उद्धारका लागि दुर्घटना स्थलतर्फ जान लागेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले एउटा एम्बुलेन्समा राखेर घाइतेहरूलाई श्रीनगर पुर्‍याइएको जानकारी दिए। ‘घाइते धेरै छन् भन्ने कुरा आएको छ,’ पौडेलले भने, ‘एम्बुलेन्सको कमी भएको छ।’

उनले प्रहरीले खोजेर थप तीन वटा एम्बुलेन्स घटनास्थलतर्फ पठाएको बताए। तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए।

बस सडकदेखि २०० मिटर तल खोलामा खसेको हो।

प्रतिक्रिया