नवउद्यमी महिलालाई विना धितो ऋण सहयोग


पाल्पा – पाल्पाको तानसेन नगरपालिकाले नयाँ उद्यम गर्न चाहने महिलालाई विना धितो ऋण सहयोग दिने भएको छ । नगरपालिका भित्रका महिलालाई व्यवसाय तथा विभिन्न उद्यम गर्न १५ लाख रुपैयाँ बराबरको ऋण सहयोग उपलब्ध गराइने छ ।

नगरपालिकाले मुक्तिनाथ विकास बैंक पाल्पा शाखासँग सम्झौता गरेको छ । बैंकमार्फत उद्यम गर्ने चाहना भएका महिलालाई ऋण सहयोग उपलब्ध हुनेछ । आयआर्जन लिने गरी केही व्यवसाय गर्ने सोच बनाएका महिलालाई ऋण सहयोग गराउने कार्यक्रम ल्याएको नगर प्रमुख अशोककुमार शाहीले बताए ।

बैंकले नगरपालिकाका सिफारिसमा ४ दशमलव ६४ प्रतिशत ब्याजदरमा विना धितो ५० हजारदेखि १५ लाख रुपैयाँसम्म र धितो राखेर धितोको मूल्यांकनअनुसार ऋण प्रदान गर्ने बैंकका शाखा प्रबन्धक टेकराज ज्ञवालीले जानकारी दिए ।

नगरपालिकाबाट सिफारिस भएको १० दिनभित्रमा उद्यमीलाई ऋण उपलब्ध गराइने छ । यसै महिनादेखि विना धितो ऋणका लागि तानसेन नगरपालिकाले बैंकलाई सिफारिस गरी पठाउने छ ।

प्रतिक्रिया