सम्पत्ती शुद्धिकरणले पक्राउ गरिसकेका दीपक मनाङे २ करोड ऋणमा!


काठमाडौं– गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले आफू दुई करोड ऋणमा रहेको विवरण सार्वजनिक गरेका छन्।

अकुत सम्पत्ति आर्जन गरेको भनी सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरी अनुसन्धान गरिसकेका मनाङेले आफ्ना नाममा केही  पनि जायजेथा नरहेको उल्लेख गरेका छन्।

सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले अर्कैको नाममा बैनापट्टा गरेको खुलाएका छन्। ०७० सालमा सम्पत्ति शुद्धिकरणले मुद्दा चलाएका उनलाई ०७४ मा विशेष अदालतले सफाई दिएको थियो।

मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं–२९ धर्मस्थलीमा क्रमशः कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको विवरणमा उल्लेख गरेका छन्। ति जग्गा प्रति आना नौ लाख रुपैंयाका दरले खरिद गरेको विवरणमा उल्लेख छ।

विवरणअनुसार ०५४ मा १५ तोला र २०७० मा ७ तोला तत्कालीन मूल्यअनुसार खरिद गरी आफूसँग २२ तोला सुन रहेको मनाङेले उल्लेख गरेका छन्।

मनाङेले एभरेष्ट बैंक पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपैयाँ मौज्दात देखाएका छन्। उक्त रकम सांसद र मन्त्री हुँदा प्राप्त भएको उनले उल्लेख गरेका छन्।

व्यवसायबाट २०६८ सालमा खरिद गरेको ४५ तोला चाँदी मनाङेसँग छ। पैतृक सम्पतिका रुपमा मुगाको माला ८३ तोला रहेको उनले उल्लेख गरेका छन्।

१८ असोजमा मनाङेले उक्त विवरण मुख्यमन्त्री कार्यालयमा बुझाएका थिए।

प्रतिक्रिया