फेला परेका २३ मोटरसाइकल ट्राफिकले बुझायाे सवारी धनीलाई
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । आज हस्तान्तरण गरिएका २३ मध्ये १५ मोटरसाईकल र ८ स्कुटर रहेका छन ।
उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनीकरण तथा नियन्त्रण गर्न ट्राफिक प्रहरीले बिशेष टोली परिचालन गरेको छ । सवारी धनीले ट्राफिक महाशाखामा दिएको हुलिया निबेदनका आधारमा टोलीले मोटरसाईकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाउने गरेको छ भने चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारबाही गर्दै आएको छ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले हराएका मोटरसाईकल खोजतलास एव चोरी नियन्त्रण गर्न हामी निरन्तर लागिपरेका बताउदै मोटरसाईकल हराउनै नदिनको लागी सबैको सहयोग र हातेमालोको खाँचो रहेको बताए । उनले सवारी धनी थप सजक एव जिम्मेवार हुनुपर्ने बताए ।
यस आर्थिक वर्षमा हराएका ३८७ मोटरसाईकल मध्ये १७१ मोटरसाईकल नियन्त्रणमा लिई १६८ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । मोटरसाईकल चोरीमा संलग्न १९ जनालाई चोरीका मोटरसाईकल सहित सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीको लागी पठाएको समेत महशाखाले जनाएको छ ।