पशुपति क्षेत्र विकास कोषका कर्मचारी आन्दोलनमा


काठमाडौं – पशुपति क्षेत्र विकास कोषकाे अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । काेषले ६६ कर्मचारीहरुलाई बिना जानकारी नै कामबाट निकालेकाे भन्दै उनीहरू आन्दोलनमा छन् ।

साउन १ गतेदेखि आफूहरुलाई कामबाट निकालिएको भन्दै उनीहरुले पशुपति विकास कोष अगाडि धर्ना दिइरहेका छन् । कोषले कुनै पनि सूचना नदिई नियमित काममा हाजिर गर्न बञ्चित गरिएको भन्दै नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई ज्ञापन पत्र पेश गरेको छ ।

‘आफ्नो र आश्रित परिवारको जिविकोपार्जनका लागि धार्मिक संस्थामा श्रम गरेका श्रमिकहरुले आज सडकको पेटीमा आँशु बगाउनुपर्ने अवस्था कोषले सिर्जना गर्यो । तीन महिनादेखि हाजिर गर्ने आश्वासन दियो तर गराएन,’ ज्ञापन पत्रमा भनिएको छ ।

श्रमिकहरुले तुरुन्त हाजिर गराएर बञ्चित गरिएको मितिदेखिको खाइपाइ आएको तलब, भत्ता तथा सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया