गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी


तम्घास – पच्चीस जना क्षमता रहेको जिल्ला कारागार गुल्मीमा तेब्बरभन्दा बढी कैदी बन्दीहरु बस्न बाध्य भएका छन् ।

२५ जनाको क्षमता रहेको (ङ) वर्गको कारागारमा अहिले ८३ जना कैदीबन्दी रहेको जिल्ला कारागार गुल्मीका निमित्त प्रमख नायव सुब्बा रेश्मीराज पन्थीले जानकारी दिए ।

पन्थीकाअनुसार कारागारमा पूरुष ७६ जना, महिला ७ जना गरी जम्मा ८३ जना कैदी बन्दीहरु छन् । कारागारको भवन साँघुरो हुँदा धेरै समस्या भोग्नुपरेको पन्थीले गुनासो गरे । कैदीबन्दीलाई पर्याप्त खेलमैदान नहुनु, आर्थिकोपार्जनका लागि उद्योगहरु खोल्न पनि समस्या भएको उनले जानकारी दिए । त्यस्तै, कारागार गुल्मीमा खानेपानीको समेत समस्या रहेको उनको भनाइ छ ।

भवन पनि जीर्ण रहेकाले समस्याहरु अझ थपिदै गएको पन्थीले बताए । हाल सम्म दुःखसुख चलाउँदै आएको र अझ कैदीबन्दीहरु थपिए भने समस्या झन् विकराल बन्दै जाने पन्थीको भनाइ छ ।

यता, गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले तत्कालका लागि भवन मर्मत गर्न पहल भइरहेको बताए । कारागार कार्यालयको भवन पनि साह्रै जीर्ण भइसकेको कारागार व्यवस्थापनका लागि दीर्घकालीन गुरुयोजना बनाएरै अगाडि बढ्नुपर्ने पौडेलको भनाइ छ ।

प्रतिक्रिया