

अमेरिकामा भयो अर्को गोली काण्ड, को हुन् मारिएका नेपाली?

काठमाडौं– अमेरिकाको मासाचुसेट्स राज्यको एक पसलमा सोमबार राती भएको गोली काण्डमा एक नेपाली मारिएका छन्। ५४ बर्षीय लालकिशोर महासेठको मृत्यु भएको बताइएको छ।
मासाचुसेट्स राज्यको फल रिभरमा परिवारसहित बसोबास गर्ने महासेठका पत्नी, दुई छोरा र छोरी अमेरिकामै छन्। सामान लिन आएको एक अज्ञात समूहले पछाडिबाट गोली हान्दा महासेठको छातीमा लागेको थियो।
ब्रिस्टोल जिल्ला अधिवक्ताको कार्यालयका अनुसार २०१ रक मार्गस्थित स्टप एण्ड सेभ नामक सुबिधा पसलमा गोली चलेपछि प्रहरीलाई खबर भएको थियो। महासेठलाई चार्लटन मेमोरियल अस्पताल लगिए पनि आधा घन्टामा नै मृत घोषणा गरियो।
गोली हान्ने व्यक्ति २० देखि ३० बर्ष उमेरको र ५ फिट ७ इन्च देखि ५ फिट ९ इन्च अग्लो भएको प्रहरीले स्केच सार्वजनिक गरिएको छ।
घटनाको मधेसी एसोसिएसन अफ अमेरिकाले निन्दा गरेको छ। मारिएका महासेठ मधेसी एसोसिएसन अफ अमेरिकाका संस्थापक सदस्य, न्यू इङल्यान्ड शाखाका संस्थापक अध्यक्ष थिए। हाल उनी केन्द्रीय सल्लाहकार समितिका सदस्य थिए।
यसअघि टेक्सासमा भएका दुई गोली काण्डमा नेपाली मारिएका थिए।

