

हृदयेन्द्र शाहको राजयोग कुण्डली र राजावादीको आन्दोलन

नेपालका कम्युनिस्टले पनि हिन्दूवादी संस्कारलाई स्वीकार गर्दै कुण्डलीमा विश्वास गर्न थालेका छन्। राजनीतिको उतारचढाव र विभिन्न विवादकाबीच अहिले राजावादीको आन्दोलन राजतन्त्रको मागसहित विविध ठाउँमा चलिरहेको छ।
३० मंसिरसम्म देशका विभिन्न ठाउँमा राजावादी संघ संस्था र यसलाई अनिवार्य स्थापनाको सर्त राखेको राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यक्रम पनि चलिरहेका छन्।
के नेपालमा राजतन्त्र फर्किने सम्भावना छ?
गणतन्त्रमा पुगिसकेको मुलुक भएका कारण त्यस्तो सम्भावना नरहेको कतिपयको दाबी रहन्छ। तर धार्मिक मान्यता र कुन्डलीका आधारमा राजतन्त्र फर्किने सम्भावनाका पात्रहरू पनि छन्।
तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले विराटनगरमा पुगेर भनेका थिए– राजतन्त्रका नाममा ‘बेबी किङ’ हुन सक्छ । भर्खरै जनआन्दोलन सम्पन्न गरी लोकतन्त्र घोषणा भएका बेला राष्ट्र प्रमुखकै हैसियतमा रहेका कोइरालाको वक्तव्यको तिव्र आलोचना भयो । यहाँसम्मकी वात्स्यायनले कोइरालाको ‘सिनो राजतन्त्र’ बोकेको कार्टुन बनाए जसले निक्कै चर्चा र बहस सृजना गरेको थियो ।
कोइरालाले संकेत गरेका ‘बेबी किङ’ हुन् पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र । कोइरालाको उक्त घोषणाताका हृदयेन्द्र ३ वर्षका थिए । तर, अहिले जवान भइसकेका छन् । नागरिकता लिइसकेका हृदयेन्द्रको गत हालैका बर्षमा ब्रतबन्ध गरिएको थियो । जहाँ राष्ट्रपति विद्यादेवी भण्डारी पनि आशिश दिन पुगेकी थिइन् ।
हृदयेन्द्र उच्च माध्यमिक तहको शिक्षा आर्जन गरिरहेका छन् । बेलामौका अभिभावकसँग विभिन्न शक्तिपिठ धाउने भइसकेका छन् । हजुरबुवा ज्ञानेन्द्रसँगै पश्चिम नेपाल भ्रमणमा समेत पुगेका थिए । पारसपुत्र हृदयेन्द्र बाहिर निस्कँदा प्रायः कमिज सुरूवाल र नेपाली टोपीमा देखा पर्छन् ।
‘उहाँमा दरबारभित्रको रहनसहन छ । दरबारले सिकाएको अनुशासनमा रहने गर्नुभएको छ’, निर्मल निवास स्रोतले भन्यो,‘मठमन्दिर भ्रमण पुजाआजामा धेरै रूची राख्नुहुन्छ । समाजसेवामा पनि लगनशिलता देखाउने बानी छ ।’
प्रायः बाहिर ननिस्कने उनी मिडियाको नजरमा खास समयमा मात्र पर्ने गरेका छन् । उनको मठमन्दिर धाउने बानीको प्रमाण हो, ब्रतबन्ध सम्पन्नपछि जिद्दि गरेर पुगेको– बसन्तपुरको अशोकविनायको मन्दिर । उनको एकल जिद्दिले त्यहाँ पुगेका थिए । ०७५, १७ चैतमा उनको ब्रतबन्ध भएको थियो ।
धर्ममा रूची राख्ने हृदयेन्द्रका विषयमा विभिन्न ज्योतिषहरूले बलियो कुण्डली सार्वजनिक गरेका छन् । ज्योतिष पण्डित पद्मभक्त खरेलका अनुसार कृष्णपक्ष षष्ठी तिथिको अमृत समयमा जन्मिएका कारण उनको राजयोग छ । अर्थात्, राज्यको उपल्लो निकायमा उनी बस्नुपर्ने देखिन्छ । हृदयेन्द्र विस २०५९ श्रावण १४ गते (३० जुलाई २००२) मंगलबार श्रावण कृष्णपक्ष षष्ठी तिथिका दिन मध्यान्ह १२ बजेर ४९ मिनेटमा जन्मिएका थिए ।
हृदयेन्द्रको जन्मलाई पृथ्वीनारायण शाहको कुन्डलीसँग दाँजेका उनले कुनै पनि स्थानमा ४ ग्रह वा त्यो भन्दा माथि हुने मान्छे पुरूषार्थ हुने ज्योतिष विज्ञानले पुष्टि गरेको दाबी गरे । पृथ्वीनारायण शाहको ६ वटा ग्रह थियो
‘कर्मस्थानमा सूर्य, मंगल, बुध र बृहस्पति सहितका ४ बुधादित्यका कारण राज योगमा जन्म भएको छ’, खरेलले भनेका छन्,‘राजा हुने योग छ । यो शास्त्रीय प्रमाणको आधार हो ।’
चन्द्रमालाई राशि स्वामीको मित्र दृष्टि प¥यो भने धनवानको योग समेत ल्याएका हृदयेन्द्रको जन्मलग्न कुण्डली अनुसार छैठौं भावमा कृष्णापक्षको दिनको चन्द्रमा रहेकाले सबै अनिष्ठ नाश हुने शास्त्रीय प्रमाण रहेको खरेल बताउँछन् ।
‘चन्द्रमा बसेको घर मीन राशि हो । मीन राशिको स्वामी बृहस्पति राज्यभावमा बसेर नवौं दृष्टिले पूर्ण देखेको हुँदा योगले राजा नभई छोड्ने छैनन् भन्छ’, खरेलले भनेका छन् ।
हृदयेन्द्रको जन्मलाई पृथ्वीनारायण शाहको कुन्डलीसँग दाँजेका उनले कुनै पनि स्थानमा ४ ग्रह वा त्यो भन्दा माथि हुने मान्छे पुरूषार्थ हुने ज्योतिष विज्ञानले पुष्टि गरेको दाबी गरे । पृथ्वीनारायण शाहको ६ वटा ग्रह थियो ।
‘पृथ्वीनारायण शाहले जन्मिदै एउटै घरमा ६ ग्रह लिएर जन्मिबक्सेकाले त्यो प्रबज्या योगले पुरूषार्थ गरेर देखायो । यस्तै हृदयेन्द्रकोे हकमा पनि लागू हुने देखिन्छ’, उनले भनेका छन्,‘प्रबज्या योगको प्रबल योग बनेर पनि पृथ्वीनारायण शाह एकीकरणका महापुरूष राष्ट्र निर्माता किन भए त भन्दा जन्मलग्न कुण्डलीको ६ ग्रहका साथ पञ्चमभावमा रहेको बृहस्पतिले लग्नलाई नवम पूर्ण दृष्टिले देखेको अवस्था हुँदा सबै अरिष्टहरू नाश भएर गए।’
उनले अघि थपेका छन्,‘हृदयेन्द्रको जन्म लग्न कुण्डलीको दशमभाव केन्द्र भावमा कर्कटको बृहस्पति उच्च भएर रहेको अवस्था हँुदा सबै अरिष्टहरू नाश भएका छन् । दशमभावमा रहेका ४ ग्रह मध्ये ३ ग्रह सूर्य, बुध, बृहस्पति कारक ग्रह हुन् । दशमस्थानको सूर्यले राज्यकृपा गराउँछ भने मंगलसँग बुधको युति पनि यसै घरमा भएकाले जातकलाई सुरवीर गराउँछ।’
राजावादीको आशा
अहिले मुलुकमा राजतन्त्रका पक्षमा जनलहर बढेका कारण धार्मिक सत्तासहित राजसंस्थाको स्थापना हुने दाबीमा छन्, राजावादीहरू। मुलुकमा गणतन्त्रले धर्म मासेको र सार्वभौमसत्ता समेत अप्ठ्यारोमा परेको उनीहरूको ठहर छ।
देशी विदेशी शक्तिले पनि नेपालमा राजसंस्थालाई नै स्वीकार गर्ने विषयमा राजावादी ढुक्क छन्। बुटबलदेखि झापासम्मका विभिन्न चरणका आन्दोलन र प्रदर्शन भइसकेका छन्। अझ केही ठाउँमा अन्तिम मंसिरसम्म ठूलो आन्दोलन हुने र यसैले राजतन्त्रको लहर फर्काउने कतिपयको बुझाई छ।
राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले त राजतन्त्रका पक्षमा भएको सभा र जुलुसमा सरकारले हस्तक्षेप गरे त्यसले निम्त्याउने अनिष्ठलाई राज्यले स्वीकार नगरी नहुने चेतावनी समेत दिएका छन्। गृह मन्त्रालयले भने राजावादीको आन्दोलनमा ध्यान दिनका लागि माथाहतका प्रशासनलाई पत्राचार नै गरिसकेको छ।

