माओवादी छाडेकाप्रति प्रचण्डको आक्रोश- मन्त्री बनाउन तानेर ल्याए, अहिले कहाँ हेर्नुस् त ?


काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू बिग्रिएकोले सच्चिन तयार रहेको बताएका छन् ।

पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै दाहालले भने,  ‘म अरुलाई धेरै भन्दिनँ । बिग्रिएको मै हुँ । अब म सच्चिन्छु । अरु को-को सच्चिने, नसच्चिने तपाईंहरु सोच्नुस्,’ उनले थपे, ‘हिजो जनयुद्धमा हामफालेँ । अर्कोपटक शान्ति प्रक्रियामा हामफालेँ । कहिले संविधान बनाउनमा हामफालेँ । पार्टी एकतामा हामफालियो । फेरि समाजवादी क्रान्तिका लागि म चाहिँ हामफालेँ फालेँ । तपाईंरहामी सबैले यो फटाहाले बिगार्‍यो भन्नुभन्दा, मैले के बिगारेँ भन्ने सोच्न थालियो भने त्यहींबाट रुपान्तरण सुरु हुन्छ ।’

आफू जालझेल, ठकठाकमा लागे पनि अरुलाई दोष दिने प्रवृत्ति पार्टीमा रहेको उल्लेख गर्दै दाहालले यसबाट क्रान्तिकारी पार्टी नबन्‍ने पनि बताए ।

पछिल्लो समय नेताहरुको प्रवृत्ति नबदल्ने हो भने पार्टी विघटन गर्नुपर्छ भन्ने धारणा राख्दै आएका दाहालले उक्त कार्यक्रममा पनि चुनाव जितेकाहरु धेरै बिग्रिएको टिप्पणी गरे ।

माओवादी केन्द्र छाडेर एमालेमा लागेका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुप्रति चर्को आलोचना गरेका प्रचण्डले भने, ‘त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ । अहिले कहाँ हेर्नुस् त … त्यो बादल हिजोको साथी । अहिले त सम्झिँदा पनि तैट ! एलर्जी हुन्छ ! तानेर ल्याएर गृहमन्त्री, सरकारको नेतृत्व तपाईंले गर्नुस् भनेर बनाएको त माओवादीले, मैले हो नि १ हेर्नुस् । जो जति माथि आएको छ । त्यो त्यति बिग्रिएको छ । बुझ्नु होला ।

 

 

प्रतिक्रिया