सामूहिक बलात्कार प्रकरणमा कांग्रेस क्षेत्रीय प्रतिनिधि पक्राउ


दाङ – बालिकामाथि सामूहिक बलात्कार भएपछि होटेल सञ्चालकलाई समेत दाङ प्रहरीले पक्राउ गरेको छ।

तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित होटेल ‘द रिभर फिस फेम्ली कटेज’मा गत २७ भदौको अपराह्न १४ वर्षकी बालिकालाई दुईजना युवकले सामूहिक बलात्कार गरेका थिए।

पीडित बालिका र बलात्कार आरोपी बिष्णु सुनारको बयानका आधारमा होटेल सञ्चालक देवीराम कुसारीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि होटेल सञ्चालक कुसारीलाई बुधबार पक्राउ गरिएको उनले जानकारी दिएका छन्। उनले घटनाको अनुसन्धान भइरहेको बताए।

कुसारी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिका साथै नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य समेत हुन्। उनलाई म्याद थपका लागि अदालत लगिएको प्रहरीले जनाएको छ।

इप्रका तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले दिएको जानकारी अनुसार सामूहिक बलात्कारमा संलग्न कैलाली घरभई हाल तुलसीपुर–११ बेल्टाकुरा बस्ने २२ वर्षीय बिष्णु सुनार यसअघि नै पक्राउ परिसकेका छन्।

यसअघि शीर्षक अन्यथा पर्न गएकोमा क्षमायाचनासहित परिवर्तन गरिएको छ। सम्पादक:-

प्रतिक्रिया