उपल्लो मुस्ताङमा फोनमा कुराकानी गर्न डाँडा चढ्नुपर्ने बाध्यता हट्यो
म्याग्दी – मोबाइल फोनमा कुराकानी गर्न टावर टिप्ने डाँडामा चढ्नुपर्ने र इन्टरनेट चलाउन सदरमुकाम जोमसोम झर्नुपर्ने उपल्लो मुस्ताङवासीको बाध्यता हटेको छ ।
घर, गोठ, मेलापात, कार्यालय जहाँ जाँदा पनि साथमा रहेको मोबाइलमा कुराकानी गर्न मात्र नभएर उच्च गतिको इन्टरनेट चलाउन पाएपछि बारागुङ, मुक्तिक्षेत्र, लोघेकर-दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दालाई सहज भएको छ । देश ,विदेश र वल्लोपल्लो गाउँमा अत्यावश्यक सूचना आदानप्रदान गर्नदेखि सहर बजारका कलेजमा भर्ना भएका विद्यार्थीले कोरोना महामारीमा घरमै बसेर अनलाइनबाट पढ्न पाएका चराङवासी घम्जुघुटी गुरुङले बताए।
‘सञ्चार सुविधाको विस्तारसँगै भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दाको जीवनशैलीमा परिवर्तन आएको छ’, उनले भने, ‘कोठाभित्रै बसेर सूचना आदानप्रदान गर्न पाएका छौँ । सञ्चार नहुँदा धेरै सास्ती भएको थियो ।’ विकास निर्माणमा सहजीकरण गर्न, सार्वजनिक सेवा प्रवाह, भेडा च्याङ्ग्रा, स्याउलगायत कृषिजन्य वस्तुको बजारीकरणमा समेत सहयोग पुगेको लोमान्थाङका टासी गुरुङले जानकारी दिए । ‘धार्मिक र पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ’, उनले भने, ‘मोबाइल सुविधा विस्तारसँगै जीवनशैलीमा नसोचेको परिवर्तन ल्याएको छ ।’
सरकारी स्वामित्वको नेपाल टेलिकमले थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा तारजडित टेलिफोन, फाइबरबाट इन्टरनेट विस्तार गरेको छ । मुक्तिनाथ, दामोदरकुण्डदेखि चीनको सिमाना कोरला नाकासम्म बिटिएस टावरमा थ्रीजी सञ्चालन गरेको टेलिकमको बागलुङ शाखाका वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।
‘मुक्तिनाथमा फाइबर इन्टरनेट विस्तार भएको छ’, उनले भने, ‘चार हजार ६०० मिटर उचाइको कोरला नाकाको बिटिएस टावरमा पनि थ्रीजी चलाएका छौँ ।’ छरिएका र पातलो बस्ती भएको मुस्ताङका ठाउँमा मोबाइल र थ्रीजी इन्टरनेट विस्तार गर्न २० बिटिएस टावर राखेको टेलिकमका मुस्ताङ शाखा प्रमुख सुमनराज श्रेष्ठले जानकारी दिए ।
धार्मिक स्थल दामोदरकुण्डमा जाने दर्शनार्थी र स्थानीयवासीलाई लक्षित गरेर पछिल्लो पटक लोघेकर दामोदरकुण्ड गाउँपालिकाको घिलिङ लोदा र नाङ्लियाको ‘बिटिएस टावर’को स्तरोन्नति गरिएको छ । तीव्र गतिमा चल्ने हावाहुरी, हिमपात र चिसोका कारण सञ्चार सेवालाई प्रभावित हुन नदिन स्थानीय तहले सामग्री राख्ने घर निर्माण र टावरसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए ।
पोखरा-बागलुङ, बेनी-जोमसोम-कोरला सडक निर्माणका क्रममा फाइबरमा क्षति हुने र विद्युत् आपूर्तिमा हुने अनियमितता मुस्ताङको सञ्चार सुविधालाई नियमित र गुणस्तरीय बनाउन चुनौती देखिएको छ । विसं २०७४/०७५ सम्म मुस्ताङमा सीमित कल सुविधा मात्र थियो । हाल अधिकांश भू-भागमा माइक्रोवेभ रेडियो लिङ्कमार्फत अत्याधुनिक प्रविधिको सेवा प्रवाह गरिरहेको छ ।