

काबुलमा रोकिएका ३४ नेपालीलाई यसै साता फर्काउन पहल भइरहेको छः दूतावास

काठमाडाैं – नयाँ दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा अलपत्र परेका ३४ नेपाली नागरिकलाई यही साताभित्र चार्टर्ड उडानमार्फत् स्वदेश फर्काउन पहल भइरहेको जनाएको छ।
अमेरिकी सेनाको फिर्तीसँगै बन्द रहेको काबुल विमानस्थल पुनः सञ्चालनमा आएसँगै विभिन्न देशले अफगानिस्तानमा अलपत्र आफ्ना नागरिकहरूको उद्धारमा पहल गरिरहेका छन्।
यसअघिको उद्धारमा छुटेका ३४ जना नेपाली नागरिकहरू काबुलमा सुरक्षित रहेको र उद्धारका लागि पहल भइरहेको अफगानिस्तान समेत हेर्दै आएको दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख रामप्रसाद सुवेदीले बताए।
उनका अनुसार एउटा निजी सुरक्षाकर्मी आपूर्तिमा संलग्न कम्पनीको चार्टर्ड उडानमा नेपाली नागरिकहरू फर्काउन दूतावासले पहल गरिरहेको छ। ‘त्यहाँ रहेका नेपाली नागरिकहरू उसको चार्टर्ड उडानमा ल्याइदिन आईडीजी भन्ने कम्पनी तयार देखिएको छ। सम्भवतः यसै साताभित्र काबुलमा रहेका ३४ जना नेपालीहरू स्वदेश फर्किनुहुनेछ,’ सुवेदीले बीबीसीसँग टेलिफोनमा भने।
आईडीजीले आफ्नो वेबसाइटमा अफगानिस्तानसहित म्यानमार, सोमालिया लगायतका देशमा निजी सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ। सुवेदीका अनुसार काबुलमा रहेका नेपाली नागरिकहरूलाई त्यही कम्पनीले खाने र बस्ने प्रबन्ध गरिरहेको छ।
‘तर काठमाण्डूबाट चार्टर्ड उडान फर्किँदा उसको कम्पनीमार्फत् राष्ट्रसङ्घीय निकायमा काम गर्ने नेपालीहरू यसअघि बिदामा आएका रहेछन् उनीहरूलाई लैजान प्रस्ताव गरेको छ,’ उनले भने।
अफगानिस्तानको तरल राजनीतिक अवस्थाका कारण अहिले नै बिदामा आएका नेपाली नागरिकहरू फर्काउन नेपालले निर्णय नदिएको अधिकारीहरूले बताएका छन्।
बिदामा नेपाल आएकालाई फर्काउन कम्पनीको पहल
अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घ अन्तर्गतका विभिन्न निकायमा कार्यरत ४६७ नेपालीमध्ये ४२४ जना अझै त्यहीँ रहेको दूतावासले जनाएको छ। गत महिना अफगानिस्तानको सत्ता तालिबानले हातमा लिएपछि बिदामा आएका ४३ जना नेपालमै रोकिएका थिए।
‘उसले ३४ जनासहित बिदामा आउन चाहेका थप १०० जनालाई नेपाल ल्याएर यहाँ रहेका ४३ जनालाई फर्काउन कुरा गरिरहेको छ,’ सुवेदीले भने। ‘नेपालमा रहेकालाई पुनः पठाउन हामीले अहिले नै सहमति दिएका छैनौँ, पहिले त्यहाँ स्थिरता के हुन्छ भनेर हेर्नुपर्यो।’
वैदेशिक रोजगार विभागका निर्देशक कमल ज्ञवालीले नेपाली नागरिकहरूका लागि जोखिम कायमै रहेकाले अफगानिस्तानबाट बिदामा आएकालाई अहिले नै फर्किन सहमति दिन नसकिने बताए। ‘पुनः अफगानिस्तान फर्किने अनुमति लिन विभागमा अहिले माग आएको छैन। आए पनि हामीले उनीहरूको सुरक्षा जोखिमका कारण हतार गरेर फर्कने अनुमति दिइहाल्नु हुँदैन,’ उनले भने।
यसअघि अफगानिस्तानमा रहेका नेपालीहरूको स्वदेशफिर्तीका लागि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासबाट समन्वय गर्न विभिन्न सम्पर्क माध्यमहरू सार्वजनिक गरेको थियो।
काबुलबाट उडान सुरु
प्रान्तीय राजधानी कब्जा गर्दै राजधानी काबुलतर्फ तालिबान लडाकुहरू अघि बढेपछि नेपालीहरूलाई स्वदेश फर्कन सरकारले आह्वान गरेको थियो। तर व्यापारिक उडानहरू बन्द भएपछि धेरै नेपालीहरू काबुलमै रोकिएपछि विभिन्न राष्ट्रसँग समन्वय गरेर उनीहरूको उद्धार गरिएको थियो।
अफगानिस्तानमा रहेका करिब १५०० नेपालीमध्ये गत बिहीबारसम्म ९०६ जना नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।उनीहरूलाई काबुल विमानस्थल बन्द हुनुअघि त्यहाँबाट उद्धार गरी दुई साताअघि तेस्रो मुलुक पुर्याइएको थियो। अगस्ट ३१ मा अमेरिकी सेना फिर्ता भएपछि बन्द रहेको काबुल विमानस्थलमा गत साताबाट सीमित अन्तराष्ट्रिय उडानहरू सुरु भएका छन्।
बिहीबार काबुलबाट पहिलो अन्तर्राष्ट्रिय उडान भरेको कतार एअरवेजले अमेरिका, क्यानडा र द नेदरल्यान्ड्सका डच नागरिकहरूलाई दोहा लगेको थियो। शनिवार पनि कतार एअरवेजले फ्रान्सका ४९ नागरिकसहित १५० जनालाई काबुलबाट दोहा पुर्याएको बताइएको छ।पाकिस्तान इन्टरन्याश्नल एअरलाइन्सको एउटा विशेष विमान यात्रुहरू लिन सोमवार काबुल पुगेको थियो। बीबीसी

