

एसपी विनोद घिमिरेले पाए रौतहट प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं – जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेलाई दिइएको छ। यसअगाडि एसपी सिद्धिबिक्रम शाह विवादमा तानिएपछि घिमिरेलाई जिम्मेवारी दिइएको हो।
सोमबार मात्रै प्रहरी प्रधान कार्यालयले जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत एसपी घिमिरेलाई रौतहट प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो।
प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले मध्य तराईको चुनौतीपूर्ण जिल्ला मानिने रौतहटमा एसपी घिमिरेलाई खटाउने निर्णय गरेका हुन्।
प्रहरी मुख्यालयले साहलाई कारबाहीस्वरुप रौतहटबाट प्रहरी प्रधान कार्यालय तानेको थियो। शाह तानिएपछि रौतहट प्रहरी प्रमुखको कमाण्ड प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण प्रसाद चिमोरियाले सम्हाल्दै आएका थिए।
सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागुऔषध राखेर पत्रकारलाई फसाएको घटना छानबिनका लागि काठमाडौँ बोलाइएका शाहलाई जुनियर प्रहरी अधिकृत शिक्षालयमा सरुवा गरिएको छ।
एसपी घिमिरे नेपाल प्रहरीमा इमानदार र व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन्। एसपी हुँदा जिल्ला प्रहरी कार्यालय कैलाली र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको सफल कमाण्ड गरिसकेका छन्।

