सडक अवरुद्ध हुँदा उपचार गर्न हेलिकोप्टर चार्टर


म्यादी – गण्डकी प्रदेशको राजधानी पोखरासँग धवलागिरिका चार जिल्लाको सडक यातायात सम्पर्कबिच्छेद भएपछि जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्‍याउने गरिएको छ ।

मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङअन्तर्गत पर्वतको डिमुवाबाट चुवाखण्डमा गत साता गएको पहिराले सडक अवरुद्ध बनाएपछि गम्भीर अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्‍याउने गरिएको हो ।

भिरबाट लडेर घाइते भएका मालिका गाउँपालिका-६ दरबाङका राहुल आचार्यलाई बुधबार हेलिकोप्टरबाट पोखरा लगिएको थियो । बेनी अस्पतालले पोखरा सिफारिस गरेकी एक गर्भवतीलाई पनि हेलिकोप्टरबाट नै लगिएको थियो ।

सिन्धुलीमा निधन भएकी बेनी नगरपालिका-७ की तारादेवी गिरीको शव दाहसंस्कारका लागि बेनी ल्याउन हेलिकोप्टर चार्टर्ड गरिएको परिवारका सदस्यले बताएका छन्। सडक अवरुद्ध हुँदा गम्भीर अवस्थाका बिरामीलाई धवलागिरि क्षेत्र बाहिरका अस्पताल पुर्‍याउन हेलिकोप्टर चार्टर्ड गर्नुपरेको बेनीका अनोद श्रेष्ठले बताए।

म्याग्दीमा बिरामी लैजान बुधबार र मङ्गलबार चाररचार पटक हेलिकोप्टरको प्रयोग गरिएको थियो । म्याग्दीबाट पोखरा पुग्न एकपटक हेलिकोप्टर चार्टर्ड गर्दा न्यूनतम रु एक लाख २० हजार खर्च गर्नुपर्छ । पहिरामा परेर पर्वतमा ११ जनाको मृत्यु भएको थियो ।

पर्वत खण्डको बिभिन्न ठाउँमा पहिराले विद्युत्, सडक र सञ्चारसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेको छ । टावर ढलेपछि म्याग्दीको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, पाँच मेगावाट क्षमताको घलेम्दीखोला, १३.६ मेगावाट क्षमताको थापाखोला र १० मेगावाटको मोदी-१ जलविद्युत् आयोजना बन्द हुँदा करोडौँको नोक्सानी भएको छ ।

सडक अवरुद्ध हुँदा बजार क्षेत्रमा तरकारी, निर्माण र इन्धनको अभाव भएको छ । म्याग्दीको लेकाली क्षेत्रमा उत्पादन भएको आलु सडक अभावका कारण पोखरालगायत सहरमा बिक्री गर्न लैजान सकिएको छैन । इन्धन अभावका कारण सार्वजनिक यातायात र विकास आयोजना प्रभावित भएका छन् । म्याग्दीमा छवटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । चालु अवस्थामा रहेका बेनी-जोमसोम, बेनी-दरबाङ, मालढुङ्गा-बेनी सडक आयोजना पनि प्रभावित भएका छन् ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले चट्टानसहितको पहिरो र भासिएर अवरुद्ध बनेको सडक मर्मतको काम अन्तिम चरणमा पुगेको जनाएको छ । मोदीको पातीचौरबाट कुश्मातर्फ दुई, कुश्माबाट पातीचौरतर्फ दुई र बीचमा एक वटा स्काभेटर परिचालन गरेर सडक मर्मत भइरहेको छ।

प्रतिक्रिया