चार कमान्डका महारथीले लगाए प्रधानसेनापतिको फूली, युद्धकलाका शर्माले के गर्न सक्छन्?


काठमाडौं– महारथी प्रभुराम शर्माले विहीबारबाट नेपाली सेनाको प्रधानसेनापतिको औपचारिक जिम्मेवारीसहित पदभार ग्रहण गरेका छन्। उनलाई सेनाको परमाधिपति तथा राष्ट्रपति विद्यादेवी भण्डारीले दज्र्यानी चिन्ह (फूली) लगाएर एक समारोहबीच पद तथा गोपनियताको कसम खुवाएकी छन्।

सेनाले साउनदेखि अबलम्बन गरेको चार कमान्डको नेतृत्व शर्माले औपचारिक रुपमा सम्हालेका छन्। कम्तिमा तीन बर्ष उनले उक्त जिम्मेवारीमा सेनाको श्रीवृद्धिमा काम गर्ने विश्वास समेत दिलाएका छन्।

शर्मासँग जंगीअड्डाको हरेक विभागमा बसेर काम गरेको अनुभव छ। ३७ वर्षको सैनिक सेवामा उनले गुल्म, गण, बाहिनी र पृतनाको नेतृत्व हाँकीसकेका छन्। जंगीअड्डमा सैनिक सचिव, भर्ना छनौट, नीति तथा योजना, सह–बलाध्यक्ष, युद्धकार्य, सम्भाररथी, बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारीमा काम गरेका शर्मा युद्धकलाका पोख्त सैनिक अधिकारी मानिन्छन्। उनीसँग अन्य मुलुकका समकक्षीसँगको सामरिक सम्बन्ध कायम राख्ने अनुभव पनि उत्तिकै रहेको बताइन्छ।

प्रधानसेनापति शर्मासँग बंगलादेशमा तीन वर्ष सैनिक सहचारीको रुपमा काम गरेको अुनभव छ। शर्माले संयुक्त राष्ट्र संघीय शान्ति मिसनका क्रममा पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गरेका छन्। शर्मा भारतमा भएको नेपाल भारत द्वीपक्षीय सल्लाहकार समूहको भेलामा पनि सभागी भएका थिए।

बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम गरेका शर्माले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गरेका छन्।

निवर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले सुरु गरेको सैनिक भित्रको सांगठनिक सुधार मात्र होइन, नयाँ संरचनामा सेनालाई अझ गतिशील बनाउने दायित्व शर्मासँग छ। जानकारहरू भन्छन्,‘बदलिँदो भू राजनीतिदेखि अनेक प्रकारका विषयमा सेनाको मनोबल उच्च राख्दै रणनीतिक नेतृत्वमा शर्माले दख्खलपूर्ण काम गर्नेछन्।’

शर्मा नेपाली सेनाको इतिहासमा पहिलो पटक महारथीको जिम्मेवारी सम्हाल्ने पहिलो ब्राम्हण हुन्। यसअघि नेपाली सेनाको प्रमुख कमान्ड ब्राम्हणले गरेका थिएनन्। ‘सेनामा रणनीति र प्रयोगको कुरा प्रमुख हुन्छ यसलाई जातिय हिसाबमा व्याख्या गर्न त हुन्न तर इतिहासमा शर्माको उपस्थिति भने चर्चायोग्य छ’, एक पूर्वप्रधानसेनापति भन्छन्,‘सेनाको गौरवमय इतिहासलाई अझ बलियो र दरिलो बनाउन अनुभवनी प्रधानसेनापतिको दक्षताले काम गर्नेछ।’

प्रतिक्रिया