

डरलाग्दो दुर्घटनाः पुलबाट खोलामा खस्याे जीप, यात्रु सकुशल

पोखरा – पोखरा महानगरपालिका वडा नम्बर १६ दीपस्थित ब्रिटिश पेन्शन क्याम्पको गाडी (स्कारपियो जीप) गए राति पुलबाट फिर्के खोलामा खसेको छ । राति करीब दुई बजे समयमा ब्रिटिश पेन्शन क्याम्पको ६०–०–४६७ नं को गाडी पुलबाट फिर्के खोलामा खसेको हो ।
तीब्र गतिमा बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ आउँदै गरेको उक्त गाडी अनियन्त्रित भै पुलबाट फिर्के खोलामा खसेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
पुलबाट करीब १० मिटर तल खोल्सामा खसेपनि गाडीका चालक पोखरा–१६ बस्ने २९ वर्षीय विजय घले र गाडीमा सवार उनकी श्रीमती २८ वर्षीय दुर्गा गुरुङ भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिएका छन् ।
घटनाको जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरीले उनीहरुलाई उद्धार गरेर आफन्तको जिम्मामा पठाएको पनि प्रहरीले जानकारी दिएको छ। पोखरा- बाग्लुङ्ग राजमार्गको पोखरा महानगरपालिका वडा नं ४ र ५ को सिमानामा पर्ने उक्त पुल साँघुरो भएका कारण बारम्बार दुर्घटना हुने गरेको छ ।

