पौडेल समूहका माग सम्बोधन गर्न देउवा तयार, पार्टी कार्यालयमा जारी अनसन तोड्ने तयारी


काठमाडौं – नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएका मागहरु सम्बोधन गरेरै महाधिवेशन गर्ने सहमति दिएका छन् ।

जिल्ला सभापतिहरुका तीन बुँदे माग सम्बोधन नगरी महाधिवेशनको प्रक्रिया अघि बढाउँदा अन्योल सिर्जना भएको भन्दै वरिष्ठ नेता पौडेलसहित संस्थापनइत्तर समूहका नेताहरु देउवाको ध्यानाकर्षण गराउन शुक्रबार साँझ बालुवाटार पुगेका थिए । सो क्रममा नेताहरुबीच सबै समस्याहरुको सम्बोधन गर्दै तोकिएकै मितिबाट अधिवेशनको प्रक्रिया अघि बढाउने सहमति जुटेको हो ।

दुई नेताबीचको छलफलपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरूले राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको पूर्वमहामन्त्री प्रकाशमान सिंहले बताए।

देउवासँग भएको कुराकानीबारे जानकारी गराउन पौडेल पक्षले शनिबार आफू निकटका नेता र जिल्ला सभापतिहरूसँग सिंह निवास चाक्सिबारीमा छलफल गरेका थिए। देशभरका छ हजार ७४३ वडामै एकै दिन अधिवेशन गर्ने समझदारी भएको सिहंले बैठकपछि जानकारी दिए। जिल्ला सभापतिहरूले राखेका माग पनि सुनुवाइ गर्ने विषयमा पनि समझदारी बनेको उनको भनाइ छ।

जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र क्रियाशील सदस्यको नाम सार्वजनिक गर्न माग गरेका थिए। ४८ जिल्लाका क्रियाशीलको नाम सार्वजनिक भएको र अरु जिल्लाको एकरदुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ।

एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरी जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ। क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने विषयमा सहमति जुटेको बताए। साथै नेता सिहंले अब पार्टीभित्र नयाँ उत्साहका साथ अधिवेशन केन्द्रित हुने वातावरण बनेकाले सबैलाई महाधिवेशनमा केन्द्रीय रहन आग्रह गरे।

प्रतिक्रिया