के माधव नेपालले एमाले फुटाउन सक्छन्?

१५ बर्ष निरन्तर मुखिया भएको र अन्य समयमा बरियताको उपल्ला तहमा बसेर सूर्य चिन्हलाई स्थापित गरेका माधव नेपालसामु नैतिक प्रश्न र संकट छ


काठमाडौं– सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्ने निर्णयसँगै दल विभाजनसम्बन्धी अध्यादेश आउने चर्चा सुरु भएको छ। यस्तो अध्यादेश सत्ता गठबन्धनलाई सहयोग गरिरहेका एमाले नेता माधवकुमार नेपाललाई पार्टी फुटाउन सहज हुनेगरी ल्याउने चर्चा चलेपछि राजनीतिमा नयाँ तरङ्ग आएको छ।

एमाले विभाजन गरेपछि मात्रै नेपाल समूहलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको बताइएको छ। दल विभाजन हुने संकेत गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राती १०ः२२ मा वक्तव्य जारी गरी एकजुट हुन आह्वान गरेका छन् भने मंगलबारका लागि स्थायी कमिटी बैठक र संसदीय दलको बैठक बोलाइएको छ।

अध्यादेश आई हाले पनि ओलीले एमालेलाई जोगाउनका लागि कत्तिको भूमिका खेल्न सक्छन् त्यो एउटा प्रश्न बनेको छ। तर के एमाले विभाजनका लागि नै नेता नेपालको चाहनाअनुसार अध्यादेश आउन लागेको हो? उच्च स्रोतले भन्यो,‘अध्यादेश ल्याउने विषय त सही हो तर अझ नेपाल समूहलाई सजिलो हुनेगरी आउने सम्भावना छ।’

यसको अर्थ केन्द्रीय समितिमा वा संसदीय दलमा ४० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्थालाई अझ खुकुलो बनाएर २५ प्रतिशतमा झारी अध्यादेश आउन सक्ने आँकलन गरिएका छन्। यसो हो भने अहिले केही अवसरवादी २२ प्रतिनिधि सभा सदस्यको साथ पाएका नेता नेपाल पार्टी विभाजनका लागि अगाडि बढ्न सक्ने अनुमान गरिएको छ।

तर नेता नेपालले पार्टी फुटाउलान्?

पछिल्ला दिनमा भएका विभिन्न कार्यक्रममा सरकारमा सहभागी नहुने बताएका नेपालले एकीकरणका लागि नै पहल गर्ने तर ओलीको टाङमुनी नछिर्ने बताएका थिए।

उनले आफू पक्षका केही सांसदलाई मन्त्री बन्न हुटहुटी भइरहेको उल्लेख गरी अहिले एकीकरणका लागि नै संघर्ष आवश्यक रहेको बताएका थिए। नेता नेपालका अभिव्यक्तिले उनी एमाले विभाजनको लयमा भन्दा पनि आन्तरिक संघर्ष र समानान्तर शक्ति स्थापित गर्ने अभ्यासमा जोड दिइरहेका छन्।

नेपाललाई पार्टी विभाजनमा पनि नैतिक संकट र बलियो साथ नदेखिने लगभग तय भएको छ। उनी पक्षका भनिएका बलिया नेताहरु उपाध्यक्ष भिम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेता विभाजनको पक्षमा छैनन्।

पार्टी फुटी हालेको खण्डमा पनि आफू कमजोर हुने भएकाले १५ बर्षसम्म एमालेको मुखिया भएर काम गरेका नेता नेपाललाई गहिरो संकट रहेको कतिपयको विश्लेषण छ।

‘पार्टीभित्र संघर्ष हुन्छन् तर ओली नेतृत्वमा आएको ६ महिनामा नै असह्य भएर विभाजनतिर लम्किनु तीन कार्यकाल प्रमुखको भूमिका निर्वाह गरेका नेतालाई सुहाउँदैन र नैतिकताले पनि दिँदैन’, एक स्थायी कमिटी सदस्य भन्छन्,‘विभाजनले कस्तो क्षति भएको थियो भन्ने विषयमा भुक्तभोगी नेताले त्यसो गर्दैनन्।’

प्रतिक्रिया