
अफगानिस्तानमा रहेका नेपालीबारे सरकार किन मौन ?
काठमाडाैं – केही समययता अफगानस्तानमा तालिवान विद्रोही समूहले विभिन्न प्रान्त नियन्त्रणमा लिनेक्रम बढेपछि विभिन्न देशले आफ्ना नागरिकलाई फिर्ता बोलाउने क्रम शुरु गरेका छन् । तर नेपालले भने त्यहाँ रहेका नेपाली वा उनीहरूका आफन्तले चाहेमा मात्र आवश्यक निर्णय गर्ने भएको छ ।
करिब १५ सय नेपाली अफगानिस्तानमा पुगेको र त्यहाँको द्वन्द्वलाई नजिकबाट नियालिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।अफगानिस्तानमा रहेका नेपालीका बारेमा संसदीय समितिले केही दिनमा सरकारलाई निर्देशन दिने तयारी गरेको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले केही दिनमा बैठक बोलाएर सरकारलाई आवश्यक निर्देशन दिइने बताए । तालिवानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार र त्यसको नजिक रहेको लस्कर गाहमा कब्जा जमाएको छ।
काबुलबाट बढीमा ८० किलोमिटर दक्षिणमा रहेको पुल–ए–आलम सहित आधा प्रान्तीय राजधानी तालिवानले कब्जा गरिसकेको खबर सार्वजजिक भइरहँदा त्यहाँ रहेका नेपालीका आफन्त भने चिन्तित छन् । पछिल्लो समय तालिवान लडाकु राजधानी काबुल कब्जा गर्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।



कागजपत्र |
