आफ्नै जरोमा खनिए पूर्व माओवादी: भन्छन्- माओवादी केन्द्र नेपालको संविधान र कानुन विपरित


काठमाडौं – नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन्।

शुक्रबार माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि आयोग पुगेका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका हुन्।

उनले भने, ‘माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चलिरहेको छैन। एकप्रकारले भन्ने हो भने भुमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ। करिब २८, २९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन। एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको। २०७८ सालसम्म, ९ वर्षसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेको छैन।’

उनले राजनीतिक पार्टीहरू संस्थागत, वैधानिक र कानुनसंगत हुनुपर्ने बताए। देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै उनले पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने बताए।

राजनीतिक पार्टीहरू बीचमा सुमधुर सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै उनले अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरी स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि बताए।

राजनीतिक पार्टीहरूलाई सिस्टममा ल्याउन आफूहरूले माओवादी केन्द्र खारेजीको मागसहित निर्वाचन आयोगमा निवेदन दिएको उनले बताए।

माओवादी केन्द्र खारेजी माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्न पनि आयोगसमक्ष आग्रहगर्न शुक्रबार नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्व नेताहरू मणि थापा, प्रभु शाहलगायत पुगेका थिए।

प्रतिक्रिया