कांग्रेस क्रियाशील विवाद: संस्थापन समूहले आफुखुसी सदस्यता वितरण गरेको पौडेलपक्षको आरोप


काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनका लागी कार्यकर्तालाई आफूखुसी ठूलो संख्यामा क्रियाशील वितरण गरिएको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा पौडेल समूहले पार्टी समायोजन समिति र क्रियाशील सदस्यता छानविन समितिमा रहेका आफूनिकट नेताहरुसँग छलफलमा महाधिवेशनलाई प्रभावित पार्ने गरी संस्थापन समूहले क्रियाशील सदस्यता वितरण गरेको दावी गरेको छ । साथै अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई आफूखुसी ठूलो संख्यामा क्रियाशील वितरण गरिएको आरोप छ ।

समायोजनका नाममा आएका क्रियाशील सदस्यतालाई लिएर छानविन समितिमा धेरैको उजुरी परेपछि पौडेल समूहको बैठक बसेको थियो ।सात सदस्यीय क्रियाशील सदस्यता छानविन समितिमा पौडेल समूहबाट केन्द्रीय सदस्य जीवन परियार र कल्याण गुरुङ सदस्य छन् ।

त्यस्तै कृष्णप्रसाद सिटौला समूहबाट प्रदीप पौडेल समितिमा छन् । बैठकमा परियार, गुरुङसँगै सिटौला समूहका पौडेल पनि सहभागी थिए ।समिति सदस्य परियारले अहिलेसम्म क्रियाशील सदस्यता छानविन र परेका उजुरीबारे छलफल भएको बताए ।

उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिको सिफारिसमा अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका केन्द्रीय नेताहरुलाई क्रियाशील सदस्यता दिने निर्णय भएको थियो ।

पौडेल समूहको छलफलमा बरिष्ठ नेता पौडेल, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा रामशरण महत, अर्जुननरसिंह केसी, डा। मिनेन्द्र रिजाललगायत सहभागी थिए ।

त्यस्तै समायोजन समितिमा रहेका नेताहरु दिलेन्द्र प्रसाद बडु र दीपक गिरी पनि छलफलमा सहभागी थिए । केन्द्रीय सदस्य गिरीले क्रियाशील सदस्यताका बारेमा जानकारी लिने काम भएको बताए । समिति सदस्य परियारका अनुसार बिहीबारसम्म ५५ जिल्लाको विवाद टुंगो लागेको छ ।

प्रतिक्रिया