

एमाले विवाद समाधान उन्मुख, ओली–नेपाल संयुक्त वक्तव्यको मस्यौदामा कार्यदल

काठमाडौं– नेकपा एमालेको विवाद समाधानोन्मुख दिशामा अघि बढेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षको कार्यदल ब्युँतिएपछि समाधानका विषयमा मस्यौदा तयार पारी वार्ता गरिएको थियो।
सोमबार नेपाल पक्षका कार्यदल संयोजक भीम रावल र प्रधानमन्त्री ओलीबीच छलफलले विवाद समाधानको खाका तयार पार्न मद्दत पुगेको बताइएको छ।
मंगलबार सकारात्मक सन्देशसहित एमाले एकताको संयुक्त वक्तव्य आउन सक्ने अनुमान गरिएको छ। कार्यदलले ओली र नेपालको संयुक्त वक्तव्यको मस्यौदामाथि चर्चा थालेका छन्।
मस्यौदाले अन्तिम रुप पाएपछि सम्भवतः मंगलबार साँझसम्म ओली–नेपालको संयुक्त वक्तव्य आउन सक्ने उच्च स्रोतले जनाएको छ। २ जेठ, ०७५ कै अवस्थामा एमाले फर्किने र नवौं केन्द्रीय कमिटीको बैठकलाई मानेर जाने विषयमा सहमतिको टुंगो लागे वक्तव्य जारी हुने बताइएको छ।
त्यसमा माओवादीबाट आएका नेताहरुलाई पनि समेट्ने विषयमा बैठकले नै तय गर्नेगरी अघि बढ्ने सहमति हुन सक्ने उच्च स्रोतले जनायो।

