

पूर्वयुवराज पारसलाई निर्मल निवास बस्ने अनुमति, थाइल्यान्डतिर लागिन् हिमानी

काठमाडौं– लामो समयदेखि प्रवेशमा रोक लगाइएका पूर्वयुवराज पारस शाह निर्मल निवासमा बस्न थालेका छन्। पूर्वराजारानी ज्ञानेन्द्र र कोमल शाह कोभिड संक्रमित भई लामो समय अस्पताल बसेर निर्मल निवास फर्केपछि पारसलाई अनुमति दिइएको हो।
थाइल्यान्डबाट फर्केपछि लामो समयसम्म नेपालका विभिन्न ठाउँमा रहेका अपार्टमेन्टमा बसे पनि पारसलाई निर्मल निवास प्रवेशका रोक लगाइएको थियो। पछिल्ला केही सातादेखि उनी पूर्वराजारानीसँगै निर्मलनिवासमा रहेको स्रोतले जनाएको छ।
पारससहित अहिले निर्मलनिवासमा पूर्वराजारानी र हृदयेन्द्र शाह बस्छन्। पूर्वयुवराज्ञी हिमानी शाह भने केही महिनादेखि थाइल्यान्डमा छिन्। दुई छोरी पूर्णिका र कृतिकासहित उनी थाइल्यान्ड पुगेको बताइएको छ।
कहिले बुवा पूर्वराजा ज्ञानेन्द्रले आफु बद्नाम हुने आशंकामा निर्मल निवास छिर्न नदिएको समाचार बाहिर आएको थियो भने पूर्वयुवराज्ञी हिमानीसँगको सम्बन्ध बिग्रेको चर्चा लामो समय चल्यो।
परिवारभन्दा बाहिर बसेका पारस यतिबेला ग्रहदशा कटाउन मन्दिर धाइरहेका थिए। पत्नी हिमानी पारस नेपाल फर्केको दोस्रो दिनमै एक महिना बसाईका लागि भारत हिडँेकी थिइन्।
निर्मल निवासमा एक मातालाई निम्त्याइयो । २३ वर्षीया एक कुमारी माताले हिमानी र पारससँग बस्दा अनिष्ट हुने भविष्यबाणी गरिन् । उनकै भविष्यवाणीका आधारमा पारस निर्मल निवास प्रवेश गर्न पाएनन्। पत्नीसँग आमने सामने हुने मौका पाएनन्।
ज्योतिषीय सिद्धान्तअनुसार पारस र हिमानीको अहिले ग्रह नमिलेको कुमारी माता सविता सरु आचार्यले ठोकुवा गरेकी थिइन्।
धनकुटाकी स्थानीयवासी माताले पूर्वराजा ज्ञानेन्द्रलाई छोरोबाट फलिफाप नहुने कुरा बताएकी थिइन्। हिमानीको ग्रहदशा हेर्दा पनि ससुराको झैँ योगफल देखिएको उनको कथन थियो।
नेपालमै बसेका तर परिवार र पत्नीसँग नजिक हुन नपाएका पारस छोराछोरीसँग भने अधिक सामिप्यमा छन्। हिमानी नपुगे पनि पारसको गएको जन्मदिनमा छोरा पोखरामा पुगेका थिए। अघिल्लो बर्षको जन्मदिनमा दुई छोरीहरू पूर्णिका, कृतिका र छोरा हृदयेन्द्र पुगेका थिए।
थाइल्यान्डको चार बर्षको बसाईपछि पारस नेपाल फर्किएका थिए। हिमानी आफैँले स्वकीय सचिव स्मृति शाहमार्फत कुमारी माता सरुलाई निर्मल निवास बोलाएकी थिइन्। माताले निर्मलनिवासमा बास्तु दोष देखाइन् । ज्ञानेन्द्र गम्भीर बिरामी हुनु र निर्मल निवासमा बस्नेहरूमा बेलाबेला शारीरिक समस्या, मानसिक असन्तुलन देखिनुजस्ता कुराका पछाडि वास्तुदोष रहेको पहिल्याइन्। योसँगै पतिसँग तत्काल नबस्न उनले हिमानीलाई भनेकी थिइन्।
अहिले पनि हिमानी थाइल्यान्ड रहेका कारण पारसले निर्मल निवासमा बास पाएको कतिपयको भनाई छ। तर, पछिल्ला दिनमा पूर्वराजारानी नै अस्वस्थ्य तथा पारस पनि बेलामौका बिरामी हुन थालेपछि एक साथ बस्न थालेको निर्मल निवास स्रोतले जनाएको छ।
यो पनि पढ्नुहोस्
माताले तोडेको एउटा नाताको भित्री कथा

