गाँजा कन्टेनर गाडीसहित मकवानपुरमा पाँच जना पक्राउ


काठमाडौं – जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष प्रहरी टोलीले प्रहरीले ९६ किलो लागुऔषध गाँजा र कन्टेनर गाडीसहित पाँचजनालाई पक्राउ गरेको छ।

मनहरीबाट हेटौडातर्फ गइरहेको ना २ ख ५५७९ नम्बरको कन्टेनर गाडीमा प्रहरीले लागुऔषध गाँजा बरामद गरेको हो। विशेष सूचनाको आधारमा हेटौडा उपमहानगरपालिका- ११ थानाभर्याङस्थित पूर्वपश्चिम लोकमार्ग खण्डमा गाडीलाई रोक्न खोजेपछि चालकले नरोकेरै फरार भएका थिए।

प्रहरीले पिछा गर्दै गएर गाडी नियन्त्रणमा लिएको थियो। कन्टेनर गाडीको क्याविनभित्र चालक बस्ने सिटपछाडि फल्स बटम बनाई ९६ किलो ४०० ग्राम लागुऔषध गाँजा फेला परेको हो। प्रहरीले गाडीका चालक मनहरी गाउँपालिका ६ का २५ वर्षीय सन्तोष आलेमगर, सह–चालक २१ वर्षीय मोसा घलान र कन्टेनरमा सवार कैलाश गाउँपालिका ८ भार्ताका २४ वर्षीय उमेश लामालाई पक्राउ गरेको थियो।

उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेपछि प्रहरीले कारोवारमा संलग्न रहेका थप २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका २ का ३१ वर्षीय विष्णु लामा र मकवानपुरको कैलाश गाउँपालिका ८ का २९ वर्षीय रोशन मुक्तान रहेका छन्।

दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो। पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले जानकारी दिए।

प्रतिक्रिया