

बाढीले बगाउँदा गोरखामा एक पुरुष बेपत्ता

गोरखा – ठोट्नेरी खोलाले बगाउँदा गोरखामा एक पुरुष बेपत्ता भएका छन्। मंगलबार बिहान आरुघाट गाउँपालिका–२ कटुञ्जे जाने क्रममा बर्दियाका ३८ बर्षीय गोविन्द चौधरीलाई खोलाले बगाएको हो।
‘तीन जना साथीसहित ट्रक मर्मत गर्न जाने क्रममा चौधरीलाई बिहान करिब साढे ७ बजे बाढीले बगाएको भन्ने सूचना पाएको हौं,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता डिएसपी प्रकाश दाहालले भने, ‘सूचना पाउन बित्तिकै प्रहरी टोली पुगेर खोजी गरिरहेको छ।’
स्थानीयबासी, चौधरीका साथीहरु र प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको उनले बताए।

