ईश्वर पोखरेललाई उपप्रधानमन्त्री पदबाट मुक्त गर्नुका खास कारण


काठमाडौंप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिरक्षामा उत्रिने गरेका नजिकका पात्र हुन् निवर्तमान उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल। तर प्रधानमन्त्री ओलीले उनलाई नै सरकारको जिम्मेवारीबाट मुक्त गरेका छन्।

पोखरेललाई सरकारमा दिइएको जिम्मेवारीबाट सिलसिलेबार रुपमा विस्तारै किनारा लगाउन थालिएको थियो। यसका खास दुई कारण रहेका छन्। दुई छिमेकीबीचको राजनीतिककुटनीतिक सम्बन्धका विषयमा राम्रो जानकारी राखेका उनी ओलीको नेतृत्व बचाऊमा लागे पनि विषयगत रुपमा भारतका केही कदमका विरोधमा खुलेर बोलेका कारण बहिर्गमनमा परेका हुन्।

प्रधानमन्त्री ओलीले अहिले सरकार टिकाउन आगामी चुनाव आफ्नै नेतृत्वमा गर्नका लागि भारतीय संस्थापनसँगको सम्बन्ध सुधारलाई जोड दिएका छन् भने नेपाली सेनालाई पनि विश्वासमा लिन चाहिरहेका छन्।

यसकारण पोखरेललाई उपप्रधानमन्त्रीको पद समेतबाट मुक्त गर्न ओली बाध्य भएका हुन्। लिपुलेक, लिम्पियाधुरा कालापानीको सन्दर्भमा नेपालभारत विवाद चलिरहेका बेला भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेले दिएको अभिव्यक्तिका पोखरेलले आलोचना गरेका थिए।

नरवाणेले भारतमा त्यसबेला नेपाल चीनतिर लम्किएको बताएपछि पोखरेलले आपत्ति जनाउँदा भारतीय संस्थापन रुष्ट थियो। कुनै पनि हालतमा पोखरेललाई जिम्मेवारीबाट हटाउन चहान्थ्यो। खासगरी सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमण तयारी भइरहेको थियो।

विवादका विषयमा भारतीय सेनाध्यक्षको अभिव्यक्तिको विरोध गर्नु एउटा मूल कारण हो, स्रोतले भन्यो,‘अहिले ओली भारतको सहयोग चहान्छन्। उनी पोखरेललाई पदमुक्त गर्न बाध्य भए।

दोस्रो कारणचाहिँ कोभिडका सन्दर्भमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा पोखरेल विवादमा तानिए। यो विवादमा पोखरेललाई अनेक हिसाबले तान्ने कोशिश भएपछि प्रधानमन्त्री दबाबमा रहेका थिए। यसैकारण हालै मात्र ओलीले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखबाट पोखरेललाई हटाएर निर्देशक समितिको सदस्य राखिएको थियो। उक्त समितिको अध्यक्ष प्रधानमन्त्री ओली आफैं बनेका थिए भने अधिकारसम्पन्न प्रमुख कार्यकारी अधिकृतका रुपमा पूर्वजर्नेल बालानन्द शर्मालाई ल्याइएको थियो।

पोखरेल अहिले एमालेको विभाजन रोक्नका लागि सक्रिय रहेका छन्। एमाले मिलाउनका लागि उनले खेलीरहेको भूमिकाबाट पनि भारतीय पक्ष असन्तुष्ट रहेको भने पोखरेल चीनसँग नजिक भएको भन्ने जानकारी उसले राखेको छ।

प्रतिक्रिया