

ओली नेतृत्वको सरकारमा जाने कुरा सोच्न पनि सकिन्नः नारायणकाजी श्रेष्ठ

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केपी ओली नेतृत्वको सरकारमा जाने कुरा सोच्न पनि नसकिने बताएका छन्। शनिबार अनलाइनन्यू७ सँगको कुराकानीमा नेता श्रेष्ठले भ्रममा नपर्न आग्रह गरे।
केही मिडियामा बालुवाटार पुगेर नेता श्रेष्ठले ओलीलाई भेटेर सत्ता सहकार्यको प्रस्ताव राखेको समाचार आएपछि श्रेष्ठले बरु उल्टो केपी ओली नेतृत्वको सरकारलाई हटाउन एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए। ‘कपोकल्पित र भ्रामक समाचार पछि नलागौं,’ उनले भने।
‘अब ओलीलाई सरकारबाट हटाउनै पर्छ। त्यसका लागि कांग्रेसलगायत अन्य दलहरु अघि बढिरहेका छन्। हामीले समर्थन गरिरहेका छौं, नेता श्रेष्ठले भने, ‘यो प्रतिगमनकारी सत्ता हो, समावेशितालाई समाप्त पार्छ। हामी ओली सरकारमा जाँदैनौं।’
उनले ओली नेतृत्वको सरकारमा माओवादी कुनै पनि अवस्थामा सहभागी नहुने बताए। पछिल्लो समय प्रधानमन्त्री ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पानी बाराबारको सम्बन्ध छ।

