राष्ट्रिय युवा संघले टोल–टोलमा भ्याक्सिन स्वयंसेवक खटाउने


काठमाडौं – राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड–१९ भ्याक्सिन सहजताका लागि भ्याक्सिन स्वयंसेवक परिचालन गर्ने बताएका छन्।

संघको गण्डकी प्रदेश कमिटीद्वारा बिहीबार पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष पौडेलले उक्त कुरा बताएका हुन्।

उनले तीन महिनाभित्र हरेक जनतालाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्वताको स्वागत गर्दै धन्यवाद समेत व्यक्त गरे।

सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभावकारी बनाउन टोल–टोलसम्म हजारौं स्वयमसेवक परिचालन गर्ने उनले बताए।

नेपालमा कोभिड–१९ को संक्रमणसँगै यसको नियन्त्रण, रोकथाम, राहत तथा उद्दारमा देशव्यापी रुपमा आफ्नो संगठन र हजारौं नेता कार्यकर्ता परिचालित रहेको उनले दाबी गरे।

संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको अगुवाई र पहलकदमीमा संकलित उक्त सामाग्रीहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. डुक बाहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर, पिपिई, मास्क, ग्लोभ्स आदि गरी १० लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको युवा संघले जनाएको छ।

सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष पौडेलले कोरोना रोकथाम तथा नियन्त्रणको लागि देशभरका युवाहरु स्वयंसेवकको रुपमा परिचालन गर्ने उद्घोष गर्दै मानविय जीवनको रक्षाको निम्ति संघले जस्तोसुकै चुनौतीको सामाना गरि अगाडी बढ्ने दृढता व्यक्त समेत गरे।

कोरोनाको बिरामीलाई अक्सिजनलगायतका स्वास्थ्य सामाग्री अभाव भइरहेको जनगुनासोलाई मध्यनजर गर्दै आगामी दिनमा बिरामीलाई सहज बनाउन केही हदसम्म भएपनि अन्य अस्पताललाई समेत सिलिण्डरलगायतका स्वास्थ्य सामाग्रीहरु व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया