

‘चुरे दोहन गर्न सरकारले प्रोत्साहन गर्नु अपराध’

काठमाडौं – नेपाली कांग्रेसले चुरे दोहोन नीतिबाट तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न माग गरेको छ। बुधबार साँझ सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै चुरे दोहन गरेर व्यापार घाटालाई न्यून गर्न खोज्नु भनेको खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको बताए।
सरकारले असंवैधानिक कदममार्फत ल्याएको बजेटमा चुरे दोहन हुने नीति अवलम्वन गर्नुलाई पार्टीले गम्भीर रूपले लिएको सभापति देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गर्दा पर्यावरणमा गम्भीर असर पर्ने अध्ययनले देखाए पनि गल्ती सच्याएर अघि बढ्नुपर्नेमा दोहन गर्न सरकारले प्रोत्साहन गर्नु प्रकृति विरूद्धको अपराध भएको उनले बताए।
‘देशले वर्सौंदेखि व्यापार घाटा व्यहोरिरहेको छ तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने उल्लेख छ, जसको चौतर्फी आलोचना भएको छ।

