

प्रधानमन्त्रीको सपथविरुद्ध परेको रिटमा सुनुवाइ हुँदै

काठमाडौं – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको पद तथा गोपनीयताको सपथ बदर हुनुपर्ने माग गर्दै परेको रिटमा आज सुनुवाई हुने भएको छ।
सोमबार बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली,नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै चार वटा रिट निवेदन दर्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीले वाचन गरेको सपथ राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको सपथभन्दा फरक परेको उल्लेख गर्दै दायर गरिएको रिटमा सपथ बदर गराउन माग गरिएको उल्लेख छ।
राष्ट्रपति भण्डारीले सपथ गराउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावलीलाई त्यो पर्दैन भनेर वाचन गरेका थिए। त्यसले राष्ट्रपतिजस्तो सर्वोच्च संस्थाको मानमर्दन भएको रिट निवेदनकर्ताको ठहर छ।
रिट निवेदनमा निवेदकहरुले प्रधानमन्त्री ओलीले लिएको सपथमा उच्चारण नै नगर्नु गैरसंवैधानिक भएको र आफु अनुकुल शव्दहरु प्रयोग गर्न नमिल्ने उल्लेख छ।

