

सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको निधन
तीन दिनअघि पेटबाट बच्चा निकालिएको थियो

सप्तरी – सप्तरीको सप्तकोसी नगरपालिकाकी उप–प्रमुख आशा चौधरीको निधन भएको छ। सात महिनाकी गर्भवती अवस्थामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकी ४० वर्षीया चौधरीको आज निधन भएको हो।
उनको मोरङको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो। विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवकाअनुसार चौधरीको आज बिहान ४ः१२ बजे चिकित्सकले मृत घोषित गरेका थिए।
संक्रमित उप–प्रमुखको पेटबाट तीन दिनअघि बच्चा बाहिर निकालिएको थियो। स्वास्थ्यमा थप समस्या भएर अवस्था गम्भीर बन्दै गएपछि पेटमा भएको बच्चा बाहिर निकाल्नु परेको देवले बताए।
बच्चा बाहिर निकालेर बचाउन धेरै प्रयास गरिएपनि सम्भव नभएको देवले जानकारी दिए। कोरोना पुष्टि भएपछि उपप्रमुख चौधरीलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।

