

स्थानीय तहले बनाए ११६ शय्याको आइसोलेशन

तनहुँ – पछिल्लो केही दिनयता तनहुँमा दैनिकरूपमा कोरोना सङ्क्रमित बढ्न थालेपछि स्थानीय तह र अस्पतालले ११६ शय्याको आइसोलेशन तयार पारेका छन् । कोरोना सङ्क्रमित थपिएसँगै जिल्लास्थित स्थानीय तह र अस्पतालले आइसोलेशन शय्या तयार पारेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाभर ११६ आइसोलेशन कक्ष तयार गरिएको छ । प्रत्येक पालिकामा कम्तीमा पाँच शय्याको आइलोशनकक्ष तयार गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिका बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ३० शय्याको आइसोलेशनकक्ष तयार गरिएको छ । हरेक शय्यामा पाइपमार्फत अक्सिजन पुर्याइएको छ । आइसोलेशनमा ५५ थान अक्सिजन सिलिण्डर मौज्दात रहेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए ।
सदरमुकामस्थित दमौली अस्पतालमा १६ शय्याको आइसोलेशनकक्ष तयार गरिएको छ । अस्पतालमा तीन आइसीयू र चार भेन्टिलेटरसमेत छ । अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुनिल पौडेलले जानकारी दिए । अस्पतालले पाँच कोरोना सङ्क्रमितको उपचार गरिरहेको छ ।
बन्दीपुर गाउँपालिकामा १५ शय्याको आइसोलेशन कक्ष तयार गरिएको छ । आँबुखैरेनीमा १२ शय्याको आइसोलेशन कक्ष तयारी गरिएको छ । भानुमा पाँच शय्याको आइसोलेशन तयार गरिएको छ भने नौ सिलिन्डर अक्सिजन र एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । त्यसैगरी भिमादमा आठ शय्याको आइसोलेशन कक्ष तयार गरिएको छ । म्याग्देमा पाँच शय्याको आइसोलेशन कक्ष तयार गरिएको छ । ऋषिङमा पाँच शय्याको आइसोलेशन तयार गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकाले १० शय्याको आइसोलेशन तयार गरेको छ । त्यहाँ सात वटा सिलिण्डर मौज्दात छ भने चारवटा एम्बुलेन्स तयारीमा राखिएको छ । व्यास नगरपालिकाले कृषि विकास बैंकको भवनमा ५० जना क्षमताको सामूहिक आइसोलेशन बनाएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । घरमा बस्न नमिल्ने तथा विपन्न आर्थिक अवस्थाका सङ्क्रमितलाई राख्नका लागि नगरपालिकाले सामूहिक आइसोलेशन बनाएको हो ।

