गण्डकीमा एमालेको बाजी, कांग्रेस-माओवादीलाई भयानक झड्का

राष्ट्रिय जनमोर्चाका दुई सांसदले विद्रोह गरेपछि पृथ्वी सुब्बा नै मुख्यमन्त्री नियुक्त हुने निश्चित


काठमाडौं– राष्ट्रिय जनमोर्चाका दुई सांसदले पार्टीलाई नै चुनौति दिँदै विपक्षी गठबन्धनमा सहभागी नहुने भएपछि पृथ्वी सुब्बा गुरुङको विकल्पमा सरकार बनाउन लागेको विपक्षी गठबन्धनलाई झड्का लागेको छ।

गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनमा रहेका कांग्रेस, माओवादी र जसपालाई सरकार बनाउने अवसर थियो। प्रदेश प्रमुख सीता पौडेलले तीन दिनको समय दिएर बहुमतको सरकार बनाउन भनेकी थिइन्। उक्त समयसीमा बुधबार समाप्त हुँदैछ।

यसपछि ठूलो दलको हैसियतमा गुरुङलाई मुख्यमन्त्री नियुक्त गर्दै एक महिनाको समय दिएर विश्वासको मत लिन भनिनेछ। विपक्षी गठबन्धनमा रहेको जनमोर्चाका दुई सांसदले साथ नदिएपछि विकल्पको सरकार नबन्ने निश्चित भएको छ भने एमालेले बाजी मारेको छ।

जनमोर्चाका कृष्ण थापाले विपक्षी गठबन्धनलाई साथ नदिने भएका छन् भने अर्का सांसद खिमविक्रम शाही पनि विकल्पको पक्षमा छैनन्।

६० सदस्यीय प्रदेश सभामा एमालेसँग २७ जना छन्। स्वतन्त्र सांसद दिपक मनाङेसहित २८ जना सांसदको समर्थन पाएका पृथ्वी सुब्बाले जनमोर्चाका दुई जनाको साथ पाउने पक्कापक्की भएको छ।

‘अन्तिम अवस्थामा जनमोर्चाकी पियारी थापाले पनि सरकारलाई साथ दिनेछिन्। ३० दिनभित्र जसपाका दुई सांसद ल्याउने अभ्यास पनि हुनेछ’, स्रोतले भन्यो,‘विपक्षी गठबन्धन अल्पमतमा परिसकेको छ।’

जनमोर्चाका दुई जनाको साथ नपाउँदा नेपाली कांग्रेस, माओवादी, जसपा र जनमोर्चाकी एक जना गरी क्रमशः १५, ११, २ र १ जना गरी २७ जना मात्र पुग्छ।

प्रतिक्रिया