

दमौली अस्पतालले शुरु गर्यो कोभिड सङ्क्रमितको उपचार

दमौली – दमौली अस्पतालले कोभिड सङ्क्रमितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलबारदेखि कोभिड सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो । अस्पतालमा पाँच सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलले जानकारी दिए ।
उनका अनुसार चार व्यास नगरपालिका र एक म्याग्देका सङ्क्रमितको उपचार शुरु गरिएको छ । सबै सङ्क्रमित निमोनियापीडित छन् । सङ्क्रमितलाई अक्सिजन दिइएको छ । ‘सबै सङ्क्रमितको फोक्सोमा निमोनिया देखिएको छ, उहाँहरुलाई अक्सिजन र अत्यावश्यक औषधि दिइएको छ’, डा पौडेलले भने ।
उनका अनुसार अस्पतालमा १६ सङ्क्रमितलाई उपचार गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । अहिलेको अवस्थामा उक्त शय्या आजै भरिनेजस्तो देखिएको डा पौडेलले बताए । अस्पतालले जनरल वार्डलाई कोभिड कक्षमा रूपान्तरण गरेको थियो ।
उक्त ठाउँमा शय्या थप गर्ने प्रयास भइरहेको पनि अस्पतालले जनाएको छ । अस्पतालले सात आइसीयू र चारवटा भेन्टिलेटरसहितको शय्या यसअघि नै तयार गरिसकेको छ ।

